गजेन्द्र गुरुङ
खजुरा, वैशाख ५ गते । वन ग्लोबल माइलअन्तर्गत असार २७ गते (जुलाइ ११) मा नेपालमा कोहलपुर माइल सञ्चालन हुने भएको छ । हरेक वर्ष जुलाइ ११ मा हुने वन ग्लोबल माइल विश्वभर रनिङ संस्कृति प्रवद्र्धन गर्ने महाअभियान हो ।
‘एक माइल, एक दिन, एक विश्व’ नारासहित यस वर्ष दर्जन बढी देशमा एकै पटक एक माइल (१.६०९ किलोमिटर) दौड हुन लागेको हो । यो हरेक वर्ष जुलाई ११ मा हुनेछ । यसअन्तर्गत नेपालमा कोहलपुर माइल दौड हुन लागेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताउनुभयो ।
डेढ किलोमिटरको रोड रेस भएकाले सबै उमेर समूहलाई सहभागितामा सहज हुने उहाँको भनाइ छ । रेस नेपालको आयोजनामा हुने यस दौडको व्यवस्थापन नेपालगन्ज म्याराथन टिमले गर्ने गुरुङले बताउनुभयो ।
अमेरिकाको न्युयोर्कस्थित ह्युडसन् माइल विस्तार हुने क्रममा वन ग्लोबल माइल बनेको हो । वल्र्ड रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले आधिकारिक प्रवर्धन गरेको वन ग्लोबल माइल विश्वव्यापी गराउन ह्युड्सन माइलका सहसंस्थापक एवम् रन बंग्लाका सिइओ जोन बोका र एम्स दुत एवम् धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीको विशेष भूमिका रहेको रेस डाइरेक्टर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोहलपुर माइल पनि नेपालगन्ज म्याराथन सिरिजअन्तर्गत रहनेछ । यसमा यसअघि नै नेपालगन्ज १० म्युजिक नाइट रन, काठमाडौँ २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रनलगायत दौड प्रतियोगिता सञ्चालनमा रहेका छन् । वन ग्लोबल माइलमा सहभागी हुन एम्सको आबद्धता अपरिहार्य रहेको एम्स दुत टीएस ठकुरीले बताउनुभयो ।