• ५ वैशाख २०८३, शनिबार

कर्णालीमा डुङ्गा पल्टिँदा बेपत्ता बालकको शव फेला, बाबुको खोजी जारी

blog

खोज कार्यमा सहभागी स्थानीय ।

रमेश रावत

अछाम, वैशाख ५ गते । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिकै कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका बाबुछोरामध्ये छोराको शव फेला परेको छ । बिहीबार साँझ भएको दुर्घटनामा बेपत्ता भएका १३ वर्षीय नरेश बुढाको शव आज फेला परेको हो ।

नदी किनारमा फेला परेको शव दुर्घटनास्थलदेखि करिब ७ सय मिटर तल भेटिएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले जानकारी दिनुभयो । ३५ वर्षीय बाबु पहलसिंह बुढा भने अझै बेपत्ता हुनुहुन्छ । उहाँको खोजीका लागि सुरक्षाकर्मी र स्थानीय बासिन्दा परिचालन गरिएका छन् ।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार नदी पारिबाट घाँस लिएर फर्कने क्रममा साँझ ७ बजेतिर उनीहरू चढेको डुङ्गा पल्टिएको थियो । घटनालगत्तै नेपाल प्रहरी र स्थानीयले खोजी सुरु गरे पनि रातको समय भएकाले समस्या भएको थियो ।

आज बिहानैदेखि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली पनि खोजी कार्यमा जुटेको प्रहरीले जनाएको छ । बेपत्ता बाबुको खोजीलाई तीव्र बनाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।