साहारा लिम्बू
फुङलिङ, वैशाख ५ गते । ताप्लेजुङलाई बर्ड फ्लु मुक्त बनाउने अभियान सुरु गरिएको छ। अभियानको पहिलो दिन शनिबार जिल्लामा सञ्चालित पंक्षीजन्य मासु पसलबाट नमुना परीक्षण गरिएको छ।
परीक्षणको क्रममा बर्ड फ्लुसम्बन्धी कुनै पनि सङ्क्रमण नभएको पाइएको छ । तराईका जिल्ला बर्डफ्लु रोग बढ्दो क्रममा रहेकाले हिमाली जिल्ला ताप्लेजुङमा समेत सङ्क्रमण भए नभएको परीक्षण गरिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको संयोजकत्वमा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको समन्वयमा फुङलिङका विभिन्न पसलका पंक्षी तथा पंक्षीजन्य उत्पादनको नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । शनिबार बिहान सदरमुकामका १८ वटा पसलबाट नमुना सङ्कलन गरी स्क्रिनिङ परीक्षण गर्दा कुनै पनि किसिमको भाइरस फेला नपरेको केन्द्रका प्रमुख डा. रोशन दाहालले बताउनुभयो ।
उहाँका अनुसार पसलबाट सङ्कलन गरिएको नमुनाको एभियन इन्फ्लुएन्जा भाइरस एन्टिजेन परीक्षण गरिएको थियो । उक्त परीक्षणको क्रममा कुनै पनि भाइरस देखा नपरेको डाक्टर दाहालको भनाइ छ।
परीक्षणको क्रममा भाइरस पुष्टि भए बर्डफ्लु वा अन्य कुन राग हो त्यो पहिचानका लागि थप परीक्षण गर्न जिल्ला बाहिर पठाउने तयारी रहेको थियो । तर स्त्रिनिङ परीक्षणको क्रममा कुनै पनि भाइरस पुष्टि नभएकाले जिल्ला बाहिर पठाइरहनु पर्ने आवश्यक नपरेको डाक्टर दाहालले बताउनुभयो ।
परीक्षणबाट जिल्ला अहिलेसम्म बर्डफ्लु मुक्त रहेकाले ढुक्क भएर थप सङ्क्रमण फैलिन नदिन आम व्यवसायी तथा उपभोक्तासमक्ष विशेष ध्यान दिन डाक्टर दाहालले आग्रह गर्नुभयो।
शुक्रबार बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर जिल्लामा सञ्चालित पंक्षीजन्य पसलको अनुगमन, नमुना सङ्कलन गर्ने लगायतको निर्णय गरी कार्यान्वयन गरिएको केन्द्रले जनाएको छ । बर्ड फ्लुका सङ्क्रमण भएका जिल्लाहरु झापा, मोरङ, सुनसरी लगायतका क्षेत्रबाट पंक्षी र पंक्षीजन्य सामग्री जिल्लामा आयात गर्न समेत बैठकले रोक लगाएको छ ।
जिल्ला भित्रिने मालबाहक सवारी साधनलाई चेकपोष्टमा कडाईका साथ चेक जाँच गर्ने प्रमुख जिल्ला अधिकारी शिवराज सेँढाईको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको छ । चेकजाँचका क्रममा निषेधित सामग्री आयात भएको पाइएमा नियन्त्रणमा लिइ नष्ट गर्ने तयारी समेत समितिको रहेको छ।