चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ५ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा निर्माण सुरु गरिएको शितभण्डार (कोल्ड स्टोर) र वडा कार्यालय भवनका लागि स्थानीय दाताहरूबाट जग्गा प्राप्त भएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं ४ साब्लाखुमा यी संरचना निर्माणका लागि सात रोपनी जग्गा निःशुल्क प्राप्त भएको हो ।
साब्लाखुका वडाध्यक्ष पूर्णकुमार लिम्बूका अनुसार स्थानीय दिलकुमार ताम्लिङले शितभण्डार निर्माणका लागि करिब १२ लाख रुपियाँ मूल्य पर्ने चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । सो जग्गा शुक्रबार मालपोत कार्यालय ताप्लेजुङमा शितभण्डारको नाममा रजिस्ट्रेसन पास गरिएको छ।
त्यस्तै, ४ नम्बर वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय भुवानी पन्दाक र विमला लिम्बूले करिब नौ लाख रुपियाँ मूल्य बराबरको तीन रोपनी जग्गा दान गर्नुभएको छ । सो जग्गा पनि शुक्रबार नै वडा कार्यालयको नाममा नामसारी भएको छ । जग्गादाताहरूले मालपोतबाट प्राप्त धनीपूर्जा वडाध्यक्ष लिम्बूलाई हस्तान्तरण गर्नुभएको छ ।
गाउँपालिकाका अनुसार शितभण्डार निर्माणको काम सुरु भइसकेको छ । काठमाडौँको रिदम एन्ड रमेश विल्डर्स कम्पनीले एक करोड तीन लाख ८७ हजार ८५७ रुपियाँको लागतमा यसको निर्माण जिम्मा पाएको छ । यस्तै, वडा कार्यालय भवन निर्माणका लागि पनि ठेक्का प्रक्रिया टुङ्गिएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार ५३ लाख ८९३ रुपियाँको लागतमा याङ्तारु निर्माण सेवा प्रालिले वडा भवन निर्माण गर्ने छ । हाल वडा कार्यालयको कार्यसम्पादन साविक गाविसको जीर्ण भवनबाट हुँदै आएको छ ।