प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख ५ गते । सल्यानमा जन्ती बोकेको लुप्र ००१ प ०२७१ गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको घटनास्थलमै मृत्यु भएको हुनसक्ने सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले जानकारी दिनुभएको छ ।
प्रजिअ सापकोटाका अनुसार घाइतेमध्ये ७ जनालाई उपचारका लागि सल्यान अस्पताल पुर्याइएको छ भने अन्य ११ जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
बनगाड कुपिण्डे नगरपालिकामा भएको उक्त दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बनगाड कुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार शनिबार साँझ वडा नम्बर ८ को थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको गाडी वडा नम्बर १० स्थित धाइरेमा दुर्घटनामा परेको हो ।
सल्यान प्रहरीको सञ्चार शाखाले घटनाको विस्तृत विवरण र मृतकको सङ्ख्याबारे थप जानकारी आउन बाँकी रहेको जनाएको छ । दुर्घटनालगत्तै स्थानीय र प्रहरीको टोली उद्धारमा खटिएका थिए । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।