राममणि दाहाल
मकवानपुर, वैशाख ६ गते । लामो समयको प्रयासपछि पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
पर्सा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा बढ्दो मानव र वन्यजन्तुको द्वन्द्वसँगै मानवीय क्षति रोक्न वन्यजन्तुको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जको भरपर्नु पर्ने बाध्यता रहँदै आएको पहिलो पटक वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा ल्याइएको हो ।
वन्यजन्तु सप्ताह २०८३ अन्तर्गत जीतपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्ज हात्तीसार परिसरमा आइतबार आयोजित कार्यक्रममा वन्यजन्तु उद्धार केन्द्रको जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले उद्घाटन गर्नुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्सा राष्ट्रिय निकुञ्जको सहकार्यमा समस्याग्रस्त घाइते, तथा जोखिममा परेका वन्यजन्तुको उद्धार, उपचार र पुन : स्थापनाका लागि वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा ल्याइएको हो ।
वन्यजन्तु उद्धार केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख पौडेलले निकुञ्ज क्षेत्रमा बाघ र हात्तीका कारण समस्या हुने, मानव र वन्यजन्तुबिच द्वन्द्वसमेत हुने गरेको अवस्थामा मानवीय क्षति रोक्न र द्वन्द्व न्यूनीकरणका प्रयास हुँदै आएको बताउनुभयो ।
बाघले मानिसलाई खाने, उद्धारका सन्दर्भमा सरोकारवाला निकायहरुले समयमा उद्धारका कार्य गर्न नसकेको गुनासो आएको र प्रश्नको घेरामा परेको भन्दै उहाँ उद्धार केन्द्र भएमा समयमा उद्धार सहयोग पुग्ने अपेक्षासहित केन्द्रको स्थापना गर्न सफल भएको बताउनुभयो । उहाँले उद्धार केन्द्रको स्थापनासँगै निकुञ्जलाई पर्यापर्यटनको विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा ल्याइएसँगै अब वन्यजन्तुको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट आउने जनशक्तिमा निर्भर हुनुपर्ने बाध्यताबाट मुक्त भएको बताउनुभयो ।
मानव र वन्यजन्तुबिच द्वन्द्व वा वन्यजन्तुको उद्धार गर्नु पर्दा चितवन राष्ट्रिय निकुञ्जबाट आउने प्राविधिकलगायतका जनशक्ति कुर्नुपर्ने र उद्धार कार्य तीन घण्टा ढिलो मात्र हुने गरेकोमा अब तत्काल गर्न सकिने भन्दै यसबाट बारा, पर्सा र मकवानपुर जिल्लाको मध्यवर्ती क्षेत्रसँगै मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणसँगै मानव र वन्यजन्तुको क्षति कम गर्न सहयोग पुग्ने बताउनुभयो ।
उद्धार केन्द्र पहिले नै आवश्यक थियो, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा भर पर्नुपर्ने अवस्था थियो, सौराहाबाट आउन समय लाग्दा, स्थानीयमा वन्यजन्तुप्रति प्रतिशोध र नकारात्मक भावना बढ्दै गएको थियो उहाँले भन्नुभयो, समयमा नियन्त्रण हुन नसक्दा मानवबाट वन्यजन्तु मारिने र वन्यजन्तुबाट मानवीय क्षति हुने क्रम बढेको र मानव र वन्यजन्तुबिचको द्वन्द्व बढ्दै गयो ।
उहाँले भन्नुभयो आफू आएपछि कार्यक्षेत्र भन्दा बाहिर डिभिजन वनको क्षेत्रहरुमा बाघहरु मारिए, मानवीय प्रतिशोधका कारणले मरेको पायाँै ।
उहाँले कानुन मात्र प्रयोग गरेर हुँदैन समाजलाई सचेत गराउन बाघ मित्र कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै दीर्घकालीन समस्या समाधानका लागि उद्धार केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।
केन्द्रमा कोषसँगको सहकार्यमा डार्ट प्राविधिक, उपकरण, औषधी, पशु एम्बुलेन्सलगायतको उद्धारका आवश्यक उपकरण व्यवस्था गरिएको छ । साथै केन्द्रमा बाघलगायतका हिंस्रक जनावरलाई डार्ट गर्न डार्ट गन सेट, बाघलाई घेरा हाल्ने सेतो कपडा (भित), सर्प उद्धार गर्ने सामाग्री, क्यामरा ट्रयाप र गोही समात्न प्रयोग हुने सामाग्रीको व्यवस्था गरिएको छ ।