ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख ६ गते । बस दुर्घटनाको परिकल्पना गर्दै म्याग्दीको प्रदेश अस्पताल बेनीमा आइतवार आपतकालीन उद्दार तथा उपचार व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ ।
पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको बस बेनी–गलेश्वर सडकखण्डमा दुर्घटना भएको परिदृश्य तयार गरी अस्पतालको आपतकालीन उपचार क्षमता, जनशक्ति परिचालन र समन्वयको अवस्थाको परीक्षण गरिएको हो ।
बस दुर्घटनाको जानकारी अनुसार सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुगेर घाइतेहरुको उद्दार गरी अस्पताल ल्याएका थिए । दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्पतालले साइरन बजाएर चिकित्सकसहित उपचारका लागि आवश्यक सम्पूर्ण जनशक्ति तयारी गरेको थियो ।
एम्बुलेन्स मार्फत घाइतेहरू अस्पताल आइपुग्ने बित्तिकै चिकित्सकहरुले बिरामीको अवस्था मूल्याङ्कन गर्दै सामान्य, जटिल र गम्भीर गरी वर्गीकरण गरी बिरामीलाई पहेँलो, निलो र रातो समूह कक्षमा राखेर प्राथमिकताका आधारमा उपचार अघि बढाइएको थियो ।
त्यसक्रममा अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरु उपचारमा खटिएका थिए भने सुरक्षाकर्मीहरुले बिरामी स्थानान्तरणमा सहयोग गरेका थिए।
घाइतेहरुको प्राथमिक उपचार, एक्सरे, औषधी उपचार लगायतसंगै अभ्यासका क्रममा घटनास्थलमै मृत्यु भएको एक जनालाई शबगृहमा पठाइएको र गम्भीर अवस्थाका दुई जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको परिदृश्य प्रस्तुत गरिएको बेनी अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा परेकाहरुमध्ये सामान्य अवस्थाका बिरामीलाई उपचारपछि घर फर्काइएको र केहीलाई भर्ना गरेर राखिएको दुष्य समेत उक्त क्रममा प्रस्तुत गरिएको थियो ।
दुर्घटना र प्राकृतिक विपद्को समयमा एकै पटक धेरै जटिल समस्या भएका विरामी एकै पटक आउँदा अस्पतालले कसरी उपचार गर्छ भन्ने वास्तविकता पत्ता लगाउनका लागि कृतिम दुर्घटनाको उद्दार र उपचारको अभ्यास गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त बास्तोलाले जानकारी दिनुभयो ।
उहाँले यस कार्यक्रमले उद्दारमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै एम्बुलेन्स सेवाको प्रभाबकारीता तथा अस्पतालमा अकस्मिक उपचारको व्यवस्थापनमा रहेका कमिकमजोरी पक्ता लाग्ने र सुधारमा रचनात्मक सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आकस्मिक अवस्थामा प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सकिने क्षमताको परीक्षणका साथै दुर्घटनापछि तत्काल उद्दार तथा उपचार प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो अभ्यास सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।