रमेश पौडेल
पोखरा, वैशाख ६ गते । गण्डकी प्रदेशको ऐतिहासिक तथा पर्यटकीय नगरी बन्दीपुरमा यही वैशाख १८ र १९ गते ‘गाउँ पर्यटन मेला–२०८३’ आयोजना हुने भएको छ ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखरा र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा तथा गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल गण्डकीको सह–आयोजनामा उक्त मेला सञ्चालन हुन लागेका पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्रबाबु थापाले ग्रामीण पर्यटनलाई प्रदेशको समृद्धिको मुख्य आधारका रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको मेलाले स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने विश्वास लिनुभएको छ ।
उहाँले नेपाल सरकारले पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै वार्षिक २५ लाख पर्यटक भित्र्याउने तथा कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने लक्ष्य लिएको सन्दर्भमा गाउँ पर्यटनलाई थप सशक्त बनाउने उद्देश्य मेलाले बोकेको बताउनुभयो।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा कार्यालय प्रमुख मणिराज लामिछानेले बन्दीपुर बजार क्षेत्रमा सञ्चालन हुने मेलामा सामुदायिक होमस्टे, पर्यटन व्यवसायी तथा स्थानीय उत्पादनका स्टलहरू स्थापना गरिने बताउनुहुँदै मेलामार्फत गाउँका साना तथा मध्यमस्तरका पर्यटन व्यवसायीलाई प्रत्यक्ष बजार पहुँच दिलाउने, सेवा तथा उत्पादनको बजारीकरण गर्ने र गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको बताउनुभयो । साथै, बी–टु–बी र बी–टु–सी नेटवर्किङ कार्यक्रममार्फत व्यवसायीहरूबिच सहकार्य र साझेदारी विस्तार गरिने छ ।
मेलामा करिब ३० भन्दा बढी गाउँ पर्यटनसँग सम्बन्धित होमस्टे तथा फर्महरूको सहभागिता रहने अनुमान गरिएको छ । गण्डकी प्रदेशका ११ मध्ये दस जिल्लाको सहभागिता हुने उक्त मेलामा पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी तथा स्वदेशी एवं विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार ‘पहाडकी रानी’का रूपमा परिचित बन्दीपुर प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र ऐतिहासिक महत्त्वका कारण देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरूले यहाँको पर्यटन गतिविधिलाई थप गतिशील बनाउँदै आएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ सँग पनि मेलाको सान्दर्भिकता जोडिएको छ । जसले समग्र गण्डकी प्रदेशका ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रवर्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल गण्डकीका अध्यक्ष शोभा सापकोटाले गाउँ पर्यटन केवल होमस्टेमा सीमित नभई यसले गाउँको बहुआयामिक सांस्कृतिक, प्राकृतिक र आर्थिक पक्षलाई समेट्ने भएकाले समग्र विकासको आधार बन्न सक्ने बताउनुभयो । उहाँले मेलाले ग्रामीण पर्यटनलाई दीगो, समावेशी र उत्पादनमुखी बनाउँदै स्थानीय समुदायको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम अन्तर्गत ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ तथा ‘बन्दीपुर पर्यटन : हिजो, आज र भोलि’ विषयमा प्यानल छलफल आयोजना गरिने छ, जसमा पर्यटन विज्ञ, नीति निर्माता तथा सरोकारवालाहरूबिच अनुभव आदान–प्रदान हुने अपेक्षा गरिएको छ ।
यसका साथै विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रममार्फत स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गरिने छ । गाउँ पर्यटनसम्बन्धी सूचना तथा प्रचार सामग्री वितरण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा समेत टेवा पुर्याइने छ ।
ग्रामीण पर्यटन प्रवर्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने उद्देश्यसहित आयोजना गरिने उक्त मेलामा सरोकारवाला सबै पक्षको सक्रिय सहभागिता र सहयोगका लागि आयोजकले आग्रह गरेको छ ।