काठमाडौँ, वैशाख ६ गते ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सङ्घीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
आइतबार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष राईले सङ्घीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
उहाँले मुलुकमा विकास, निर्माणको काम गर्नका लागि कानूनमा तत्काल ठूलो परिवर्तन ल्याउन पनि सरकारलाई आग्रह गर्नुभयो । विकास निर्माणको काम अघि बढाउनका लागि कानूनमा ठूलो परिवर्तन ल्याउन आवश्यक रहेको अध्यक्ष राईको बुझाइ छ ।
उहाँले भौतिक पूर्वाधार मन्त्रालयले गरिरहेको काममा वन मन्त्रालयले रोक्न विरोधाभाष अवस्था विद्यमान रहेकाले त्यसमा सुधार गर्ने काममा सरकारले ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष राईले भन्नुभयो, “हामी संस्कृतिवादी मान्छे । सबै संस्कृतिको हामीले सम्मान गर्छौ । यो हिसाबले हामी सबै संस्कृतिको सम्मान गर्छौ । कोही मान्छे अल्पसङ्ख्यक छ । त्यसको संस्कृतिलाई पेल्नुपर्छ, ठेल्नुपर्छ, मास्न पर्छ भन्ने होइन । सङ्घीयता मर्म अनुसारको होस । सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने खालको स्थिति नहोस् भन्न म चाहन्छु । कानूनमा ठूलो फेरबदल हामीले ल्याउनु पर्छ । कस्तो खालको कानून छ भन्दाखेरि मैले हिजो कानूनमन्त्रीजीलाई पनि भेटेँ । टिप्पणी उठाउनुपर्छ भन्दै हुनुहुन्थ्यो । हामीले के बुझ्न जरुरी छ भने कानूनमा हामीले परिवर्तन ल्याउन सकेनौ भने काम गर्न सकिँदैन । जस्तै एउटा उदाहरण दिन्छु, बाटो बनाउने मन्त्रालयले बाटो बनाउन खोज्छ, वन मन्त्रालयले रोक्छ । पानी खुवाउने मन्त्रालयले टयाङ्की बनाउन खोज्छ, वनले आएर रोकी हाल्छ । यस्तो खालको विरोधाभाष देशमा छ । ”
अध्यक्ष राईले सरकारले श्रमदान गर्नेलाई आवश्यक स्रोत र साधनको व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।