सिराज खान
नेपालगन्ज, वैशाख ६ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले जग्गा नापजाँच सुरु गरेको छ ।
स्थानीय तहमार्फत जमिनको अभिलेखीकरण र स्वामित्व सुनिश्चित गर्ने सरकारको राष्ट्रिय अभियान अन्तर्गत गाउँपालिकाले सो कार्य अघि बढाएको हो । कार्यक्रमको पहिलो दिन राप्तीसोनारी गाउँपालिका–६, पदनाहा गाउँबाट जग्गा नापजाँच कार्यको शुभारम्भ गरिएको छ ।
लामो समयदेखि जग्गा स्वामित्वको स्पष्ट कागजात नहुँदा विभिन्न समस्यामा परेका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी सुरु गरिएको यस अभियानले भूमिहीन समुदायमा आशा जगाएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।
उहाँका अनुसार यो कार्यक्रम चरणबद्ध रूपमा अन्य वडाहरूमा पनि विस्तार गरिने छ । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको वास्तविक तथ्याङ्क सङ्कलनपछि उनीहरूलाई जग्गा स्वामित्व प्रदान गर्ने प्रक्रियामा लैजाने तयारी रहेको जनाइएको छ ।
राप्तीसोनारी गाउँपालिकाले सुरु गरेको यो जग्गा नापजाँच कार्यक्रमले भूमि व्यवस्थापनमा पारदर्शिता ल्याउने र सामाजिक न्याय स्थापना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
सो अवसरमा वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलसहित स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । नापजाँच टोलीले प्रारम्भिक चरणमा बस्ती क्षेत्रको अवलोकन गर्दै आवश्यक विवरण सङ्कलनको काम थालेको छ ।
वडाअध्यक्ष खरेलले भूमिहीन तथा सुकुमवासीको समस्या समाधान गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले वर्षौँदेखि जग्गा नपाएर बसोवास गर्दै आएका नागरिकहरूको पीडा नजिकबाट देखिरहेको जनाउँदै अब यो अभियानले उनीहरूको स्थायी समाधानतर्फ ठोस कदम चाल्ने बताउनुभयो ।
वास्तविक भूमिहीन नागरिकहरूलाई मात्र लाभ पुग्ने गरी तथ्यपरक नापजाँच गरिने र कुनै पनि प्रकारको अनियमितता हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै वडाध्यक्ष खरेलले स्थानीयवासीलाई आवश्यक कागजात र सहकार्यका लागि सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
स्थानीयवासीहरूले लामो समयदेखि भोग्दै आएको जग्गा अभावको समस्या अब समाधान हुने प्रतिक्रिया दिएका छन् ।