हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख ६ गते । मुस्ताङमा ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तु: जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित समुदायस्तरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
यही वैशाख १ गतेदेखि सुरु भएको सप्ताहको अवसरमा अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सरोकारवाला निकाय, विद्यार्थी, समुदाय र चरन क्षेत्र केन्द्रित कार्यक्रम गरी वन्यजन्तु–मानव द्वन्द्व न्युनीकरण सहित वन्यजन्तुको संरक्षण, आहारा व्यवस्थापन लगायत विभिन्न कार्यक्रम गरिएको हो ।
सप्ताहको अवसरमा जनहित माध्यामिक विद्यालय, जोमसोमको आयोजना र इलाका संरक्षण कार्यालय, जोमसोमको समन्वय सहकार्यमा विद्यार्थीद्वारा वन तथा वन्यजन्तु संरक्षण, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई वन्यजन्तुको महत्त्वका बारेमा जानकारी गराइएको छ ।
त्यसैगरी वन्यजन्तुको संरक्षणका लागि समुदायस्तरमा चोरीसिकारी नियन्त्रणका लागि सचेतनामुलक अभियानमा समुदायकै अगुवाइमा कार्यक्रम भइरहेको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले बताउनुभयो ।
कार्यालय प्रमुख गुप्ताले भन्नुभयो,‘‘वन्यजन्तुको संरक्षणका लागि समुदायको सक्रियता आवश्यकता भएकाले सचेतनामुलक अभियानमा केन्द्रित भएका छौँ, समुदायको साथ विना अभियान सफल हुँदैन ।’’
वन्यजन्तुबाट हुने हानीनोक्सानीलाई न्यूनीकरण गर्न आहाराको संरक्षण आवश्यक रहेकाले समुदायसँगको सहकार्यमा वनजङ्गल क्षेत्रमा गस्तीसहित राखिएका पासो हटाउने गरिएको प्रमुख गुप्ताको भनाइ छ । इलाका कार्यालय जोमसोमले बारजुङ मुक्तिक्षेत्र, थासाङ र घरपझोङ गाउँपालिमा गठित संरक्षण व्यवस्थापन समितिमार्फत विभिन्न कार्यक्रम गरिरहेको छ ।
समुदायस्तरमा आयोजित कार्यक्रममा आहारा र सिकारी प्रजातिको वन्यजन्तुको संरक्षणसँगे चरन क्षेत्रमा घरपालुवा जनावरलाई समेत आवश्यक घाँस र पानीको स्रोत व्यवस्थापनमा जोड दिएका थिए ।
यसैबिच एक्याप इलाका कार्यालय लोमान्थाङले चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा वन्यजन्तु पीडित कृषकलाई आर्थिक सहायता प्रदान,चरन क्षेत्र व्यवस्थापन, समुदायमा आधारित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको प्रमुख उमेश पौडेलले बताउनुभयो ।
प्रमुख पौडेलले भन्नुभयो,‘‘वन्यजन्तुको संरक्षणले पर्यावरणसँगै पर्यटन प्रर्वधनमा समेत सघाउँछ, वन्यजन्तुको संरक्षण समुदायको सहकार्य बिना सम्भव छैन ।’’
एक्याप लोमान्थाङले लोपउन्मुख सहित नियमित पाइने वन्यजन्तुको जैविक मार्गमा संरचना नबनाउने, बासस्थान क्षेत्रमा निगरानी बढाउन समुदायमा आधारित कार्यक्रमलाई सप्ताहमा समेत जोडेको छ ।
एक्यापले सप्ताहको अवसरमा चरन क्षेत्रमा रहेका पशुचौपायाका धनी, गोठाला केन्द्रिय कार्यक्रममा जलवायु परिवर्तनका समस्या समाधानका उपाय खोज्न अनुरोध गरिएको छ । ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताहको अवसरमा मुस्ताङमा वन्यजन्तु–मानव द्वन्द्व न्युनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको छ ।