अमरराज नहर्की
तनहुँ वैशाख ६ गते । मगर समुदायको सांस्कृतिक पहिचान मानिने कौराहा नृत्यको वास्तविक जननी तनहुँको ऋषिङबाट यसको ऐतिहासिक मौलिकता रक्षाका लागि नयाँ अभियानको सुरुवात गरिएको छ ।
आधुनिकताको नाममा कौराहाको लय र तालमा देखिएको विकृतिलाई चिर्दै यसको वास्तविक स्वरूप जोगाउन देशभरका कलाकार र संस्कृतिविद्हरू ऋषिङ –१, झापुटारमा भेला भइ साझा सङ्कल्प व्यक्त गरेका हुन् ।
कौराहाका विज्ञ यमबहादुर आलेका अनुसार कौराहाको उत्पत्ति ऋषिङकै माटोबाट भएकाले यसको शुद्धता कायम राख्न र नयाँ पुस्तालाई यथार्थ इतिहास बुझाउन झापुटारमा यो सांस्कृतिक बहसको मञ्च तयार पारिएको हो ।
सम्मेलनमा प्रमुख अतिथिको रूपमा बोल्दै आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले पुर्खाले सुम्पेको यो नासोलाई बिनामिसावट आगामी पुस्तामा हस्तान्तरण गर्नु नै अहिलेको मुख्य दायित्व रहेको बताउनुभयो ।
नेपाल मगर सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष नन्द घर्ती मगरले २८ वटा मौलिक समूहको सक्रिय सहभागिताले कौराहाको ऐतिहासिक मानक तय गरेको दाबी गर्नुभयो । नेपाल मगर सांस्कृतिक सङ्घका वरिष्ठ उपाध्यक्ष पदमबहादुर थापा मगरले खैँजेरीको मौलिक ताल र पुरानै भेषभूषाको अनिवार्य प्रयोगमा जोड दिँदै आधुनिक बाजागाजाको प्रभावले मौलिक आत्मा मर्न दिन नहुने उल्लेख गर्नुभयो ।
विभिन्न जिल्लाबाट आएका २८ वटा टोलीले मौलिक प्रस्तुति दिएको यस अवसरमा आयोजकले सहभागी कलाकारलाई यातायात खर्चको व्यवस्था गरी प्रोत्साहन गरेको थियो । ऋषिङको गौरव र कौराहाको साख जोगाउन यसलाई विद्यालय तहको पाठ्यक्रममै समेटिनु पर्ने र सांस्कृतिक पर्यटनसँग जोड्नु पर्ने कौराहा संरक्षणका अभियन्ता नन्दु थापा मगरले बताउनुभयो ।
नेपाल मगर सास्कृतिक सङ्घको आयोजनामा ऋषिङ गाउँपालिकाको संरक्षकत्वमा वैशाख ४ र ५ गते गरी दुई दिने सम्मेलन गरिएको थियो । ‘भाषा, लिपी, कला र सस्कृति रहे जातीयताको अस्तित्व रहन्छ, जातीयताको आस्तित्व रहे मात्र राष्ट्रियताको अस्तित्व रहन्छ ।’’