• ६ वैशाख २०८३, आइतबार

धौलागिरि शिखरमा पुगे १७ आरोही

blog

धौलागिरि हिमाल । फाइल तस्बिर

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, वैशाख ६ गते । म्याग्दीको धबलागिरि गाउँपालिका–४ स्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमालको चुचुरोमा शनिबार स्वदेशी र विदेशी गरेर एकै पटक १७ आरोही पुगेका छन् । 

यो वसन्तकालीन यामको पहिलो आरोहण हो । प्रतिकुल मौसमको सामना गर्दै आरोहीहरू शनिबार बिहान धौलागिरिको शिखरमा पुग्न सफल भएका हुन । पायोनियर एडभेन्चरका अध्यक्ष मिङ्गमा दोर्ची शेर्पाले विभिन्न देशका आरोही र शेर्पाहरूले कठिन भू–भाग, बाक्लो हिउँ र प्रतिकुल मौसमको सामना गर्दै धौलागिरिको शिखर चुम्न सफल भएको जानकारी दिनुभयो । 

सफल आरोहणसँगै टोलीले २०२६ को वसन्त ऋतुको धौलागिरि आरोहणको महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । शिखरमा पुग्ने विदेशी आरोहीहरूमा युक्रेनका इरिना हालाइ र भ्यालेन्टिन सिपाभिन, जापानकी क्योको इवाता, दक्षिण कोरियाका एइचुल चुङ्ग, रोमानियाका भ्लादिमिर–राडु फाल्कुटेस्कु तथा भारतका भगवान भिकोबा चावाले, शिवाजी लक्ष्मण नानवारे र द्वारका विश्वनाथ दोखे रहेका छन् । 

त्यसैगरी नेपाली शेर्पा टोलीबाट सानु शेर्पा, लाक्पा ओङजुक शेर्पा, निमा उङ्दी शेर्पा, डान्डु शेर्पा, दावा छिरिङ, आङ गेलु शेर्पा, आङ दावा शेर्पा, निखिल शेर्पा र लाक्पा (लाङकी) शेर्पाले पनि सफलतापूर्वक शिखरमा पुगेका छन् । धौलागिरि हिमाल प्राविधिक रूपमा चुनौतीपूर्ण र जोखिमपूर्ण हिमालमध्ये एक मानिन्छ । 

आरोहणले पर्वतारोहण पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह गरेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुनले विश्वास व्यक्त गर्नुभयो । पर्यटन विभागका अनुसार चालु वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिलासहित २८ जनाले अनुमति लिएका थिए । 

विभागका अनुसार धवलागिरि आरोहणबाट एक करोड २५ लाख ६० हजार ८ सय पचास रुपियाँ  रोयल्टी सङ्कलन भएको छ । आरोहणको अनुमति लिए अन्य आरोहीहरू पनि आधार शिविर पुगेका छन् ।