कास्की समाचारदाता
कास्की, वैशाख ६ गते । चलचित्र पत्रकार सङ्घ नेपालमा समीर बलामी पुनः अध्यक्ष बन्नुभएको छ ।
सङ्घको शनिबार काठमाडौँमा भएको १० औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी जीवन पराजुलीलाई पराजित गर्दै बलामी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो।
अध्यक्षको मतदानको अन्तिम नतिजामा समीरले ९५ मत ल्याउँदा जीवनले ४२ मत मात्र ल्याउनुभयो । सङ्गठन उपाध्यक्षमा रघुनाथ सापकोटा निर्वाचित हुनुभयो ।
उहाँले ७३ मत प्राप्त गर्दा उहाँका प्रत्यासी नवीन गिरीले ६२ मत पाउनुभयो । महिला उपाध्यक्षमा दीपज्योति थापा (७५) निर्वाचित हुँदा सुष्मा कार्कीले ६२ मत प्राप्त गर्नुभयो ।
महासचिवमा गोपीकृष्ण चापागाईं निर्वाचित हुनुभयो । महासचिवमा चार जना उम्मेदवारबिच प्रतिस्पर्धा भएकोमा चापागाईं ५३ मत ल्याउँदै निर्वाचित भएका हुनुभयो ।
महासचिवमा मनीषा कार्की, चक्रप्रसाद सिपी जैशी र पवन भट्टराई समेत प्रतिस्पर्धामा थिए । सचिव खुलातर्फ मदन रिजालले ९४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्यासी सुरेन्द्र थापा मगरले मात्र ४५ मत पाउनुभयो ।
कोषाध्यक्षमा अञ्जान दाहाल (मनीष) ७४ मतसहित निर्वाचित हुँदा निशा बजगाईंले ६५ मत प्राप्त गर्नुभयो । सहकोषाध्यक्ष अर्जुन गुरागाईं ६२ मतसहित निर्वाचित हुँदा भोला सुवेदी प्रणवको पक्षमा ४२, सुजन श्रेष्ठको ३३ मत आयो ।
उम्मेदवारको अन्तिम नामावली अनुसार पदाधिकारीसहित २३ जना प्रतिस्पर्धामा थिए । तीमध्ये उपाध्यक्ष (कार्यक्रम) तर्फ लेखनाथ आचार्य र सचिव (समावेशी) मा महम्मद जलिमको मात्र मनोनयन परेपछि उहाँहरू निर्विरोध हुनुभएको हो ।
सङ्घको सदस्य पदमा आठ जना सदस्यहरू निर्विरोध निर्वाचित भए, जसमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने छन् । कुल मत १६९ मा जम्मा १४० मत मात्र खसेको थियो ।