रामकृष्ण बोहरा
बागलुङ, वैशाख ६ गते । धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको बागलुङ नगरपालिका-६, पञ्चकोटमा दाताको सहयोगमा आर्कषक प्रवेशद्वार निर्माण गरिएको छ ।
बागलुङ नगरपालिका–३ घर भइ काठमाडौँमा बस्दै आउनुभएका आनन्द राजभण्डारीले पञ्चकोटमा ‘आनन्द प्रवेशद्वार’को निर्माण गर्नुभएको हो ।
प्रवेशद्वारको राजभण्डारी र उहाँका परिवारका सदस्य तथा पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले शनिबार उद्घाटन गर्नुभएको छ ।
प्रवेशद्वारा निर्माणले पञ्चकोटमा आर्कषण थपेको पञ्चकोट विकास परिषदका अध्यक्ष जगन्नाथ आचार्यले बताउनुभयो । पञ्चकोटमा १३५ फिट अग्लो विश्वशान्ति कलश निर्माण भइरहेको छ । यो कलशसँगै पञ्चकोटलाई धार्मिक र पर्यटकीय गन्तव्य बनाउन दर्जनौं योजना सञ्चालनमा छन् ।
प्रवेशद्वार निर्माणकर्ता राजभण्डारीले पञ्चकोटको विकास र पर्यटन प्रवर्तनमा आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ ।सरकारी तथा गैरसरकारी र व्यक्तिगत दाताको सहयोगमा पञ्चकोटमा करोडौँका संरचना बनिरहेका छन् ।
२०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पञ्चकोटको शिलान्यास गरेपछि यहाँ दर्जनौं संरचना बनिसकेका छन् । कालीगण्डकी माताको मन्दिर, गणेश मन्दिर र पञ्चमहालक्ष्मीको मन्दिरले पञ्चकोटलाई धार्मिक गन्तव्य बनाएको छ ।
हनुमानको विशाल मुर्ति र पाँच हजार ५५५ केजीको महाघण्टाले आर्कषण थपेको छ । पञ्चकोटमा अहिले विशाल कलश निर्माणाधीन छ । कलश बनेपछि पञ्चकोटमा आर्कषण थपिने पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्य बताउनुहुन्छ ।
‘‘जल सम्पदा, जल संस्कृति र जल जीवन हो भन्ने सन्देश दिन कलश निर्माण गर्दैछौ’’ कमलनयनाचायले भन्नुभयो, ‘‘कलस पञ्चकोटको महिमा प्रचार गर्ने अवसर हो ।’’पञ्चकोटमा गण्डकी गोपाल गौशालामार्फत स्थानीय गाई संरक्षण समेत गरिएको छ ।
हरेक वर्ष धार्मिक गतिविधि र महायज्ञ लगाएर विश्व शान्तिको कामना गरिँदा देशभरबाट सयौँको सङ्ख्यामा मानिस घुम्न आउन थालेको कमल नयनाचार्यले बताउनुभयो ।
बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८०-८१ म सङ्घीय समानीकरण कार्यक्रममार्फत ४० लाख र आर्थिक वर्ष २०८१-८२ मा ५० लाख रुपियाँको लगानीमा मञ्च र भान्छा सहितको कार्यक्रम स्थल समेत निर्माण गरिएको छ ।