• ६ वैशाख २०८३, आइतबार

बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

blog

स्वास्थ्य कार्यालय बैतडी । तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट

वासुलिङ बैतडी, वैशाख ६ गते । बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार ६ देखि ५९ महिनासम्मका २२ हजार ७५७ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते जिल्लाभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी  खुवाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अन्तर्गत १२ देखि ५९ महिनासम्मका २० हजार ४ सय ८३ जना बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

कार्यक्रम सफल पार्न जिल्लाभर ८३० जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ । स्वयंसेविकाले टोलटोलमा पुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सहभागी गराउन स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले अभिभावकसँग आग्रह गर्नुभएको छ ।

पहिलो दिन छुटेका बालबालिकालाई दोस्रो दिन पनि औषधी खुवाइने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।