शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशवराज भट्ट
वासुलिङ (बैतडी), वैशाख ६ गते । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त. १३८४ नम्बरको ट्याक्टर आइतबार बिहान करिब १० बजे सानीगाड खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी सिगास गाउँपालिका–८, लुपुणका २५ वर्षीय लोकेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
ट्याक्टर चालक भने फरार रहेको र उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याक्टरमा चालकसहित दुई जना मात्र सवार थिए । दुर्घटनामा ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ ।