रमेश विश्वकर्मा
गुल्मी, वैशाख ६ गते । गुल्मीका १५ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन सुरु गरिएको छ।
राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम अन्तर्गत देशभर आइतबार (आज) र सोमबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गरेको हो।
दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा छ महिनादेखि पाँच वर्ष उमेरसम्म बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुरले बताउनुभयो।
दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय रहेको यस जिल्लामा १५ हजार ५३० बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो।
स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्क अनुसार सबैभन्दा बढी मुसीकोट नगरपालिकामा एक हजार ९९० बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ।
रेसुङ्गा नगरपालिकामा एक हजार ७६४ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने बताइएको छ। सबैभन्दा कम रुरुक्षेत्र गाउँपालिकामा ८७८ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने तथ्याङ्कमा उल्लेख छ। त्यस्तै, कालीगण्डकीमा ९९२, मालिकामा एक हजार ४१९, मदानेमा एक हजार ४५८, छत्रकोटमा एक हजार १०६, गुल्मीदरबारमा एक हजार १२०, सत्यवतीमा एक हजार २२५, इस्मामा एक हजार २२०, धुर्कोटमा एक हजार १७१ र चन्द्रकोटमा एक हजार १८७ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ।
यस जिल्लामा आइतबार ९३ वटै वडामा रहनुभएका ९९७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाले तोकिएका विभिन्न स्थानबाट भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउनु हुने छ।
यदि कोही छुटेको खण्डमा स्वयंसेवीकाले सोमबार लक्ष्ति बालबालिकाको घरमै पुगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने जनस्वास्थ्य निरीक्षक कार्कीले बताउनुभयो।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषण जोखिम न्यूनीकरण गर्न सरकारले २०५० देखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनसँगै २०५६ देखि जुकाको औषधी खुवाउन थालेको हो।
सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।