अमरराज नहर्की
तनहुँ, वैशाख ६ गते । हिमाली जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जाने पर्यटक तथा तीर्थयात्रीहरूको चाप बढेपछि तनहुँको सदरमुकाम दमौलीबाट सिधा बस सेवा सञ्चालनमा आएको छ । यसअघि साना सवारी साधन महँगोमा रिजर्भ गर्नुपर्ने वा पोखरा पुगेर गाडी परिवर्तन गर्नुपर्ने बाध्यता रहेकामा स्थानीय यातायात व्यवसायीको सहकार्यमा वैशाख ५ गतेदेखि दैनिक डिलक्स बस सेवा सुरु गरिएको हो ।
मुक्तिनाथ दर्शनका लागि जाने श्रद्धालुहरूको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै हाल तीन वटा बसमार्फत सेवा प्रदान गर्न थालिएको छ । स्थानीय यातायात शाखा प्रमुख चित्र गुरुङका अनुसार दमौलीदेखि मुक्तिनाथसम्मको एकतर्फी भाडा १ हजार ६०० रुपियाँ कायम गरिएको छ । “पोखराबाटै १ हजार ९०० रुपियाँ तिर्नुपर्ने अवस्था थियो, हामीले दमौलीबाटै सस्तोमा सेवा दिएका छौँ,” उहाँले भन्नुभयो, “इन्धनको मूल्य बढे पनि दर्शनार्थीको सहजतालाई प्राथमिकता दिएका हौँ ।”
दमौलीको दुर्गा मन्दिरबाट दैनिक बिहान ६ः३० बजे बस छुट्ने र जोमसोमबाट बिहान ९ बजे दमौलीका लागि फर्किने व्यवस्था मिलाइएको छ । जिल्ला समन्वय समिति तनहुँका पूर्वसदस्य गलबहादुर गुरुङले यो सेवा उदाहरणीय रहेको भन्दै यसले पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दमौलीबाटै सिधा सेवा सुरु भएपछि न्यून आय भएका तथा रिजर्भ गर्न नसक्ने सर्वसाधारणका लागि मुक्तिनाथ यात्रा सहज र व्यवस्थित भएको छ ।”
त्यसैगरी मुस्लिम धर्मावलम्बी सतार मियाले आफ्नै सहरबाट सिधा बस सेवा सञ्चालन हुनु सबै धर्मका तीर्थयात्रीका लागि खुसीको कुरा भएको बताउनुभयो । स्थानीय अमर गुरुङले यो सेवा मध्यम वर्गीय पर्यटकका लागि समेत लाभदायक भएको प्रतिक्रिया दिनुभयो ।
समुद्र सतहदेखि ३ हजार ७१० मिटर उचाइमा रहेको मुक्तिनाथलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मानिन्छ । ‘मुक्तिक्षेत्र’ का रूपमा परिचित यहाँ रहेका १०८ धारामा स्नान तथा भगवान् विष्णुको दर्शन गर्नाले पुण्य प्राप्त हुने जनविश्वास छ । धार्मिक महत्त्वका साथै प्राकृतिक सुन्दरता र शालिग्राम पाइने क्षेत्र भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दो छ ।