• ६ वैशाख २०८३, आइतबार

निःशुल्क आँखा शिविरबाट ८३ को फर्कियो ज्योति

blog

आँखाको शल्यक्रिया गरिएका बिरामीहरू । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, वैशाख ६ गते । सल्यानमा वडास्तरमै बिरामी पहिचान गरी सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ८३ जनाको आँखाको ज्योति फर्किएको छ। शारदा नगरपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा श्रीनगरस्थित आँखा उपचार केन्द्रमा दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा मोतिबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको हो।

शिविरमा कुल ३६९ जनाको आँखाको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। तीमध्ये १३७ पुरुष र २३२ महिला रहेका छन्। परीक्षणको क्रममा मोतिबिन्दु भएका ८३ जना बिरामी पहिचान गरी उनीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो, जसमा ४१ पुरुष र ४२ महिला छन्।

शिविरअघि नै शारदा नगरपालिकाले विभिन्न वडामा छनोट शिविर सञ्चालन गरी मोतिबिन्दुका बिरामी पहिचान गरेको थियो। सोही आधारमा छनोट भएका बिरामीहरूलाई बिहीवार र शुक्रबार सञ्चालन गरिएको मुख्य शिविरमार्फत उपचार प्रदान गरिएको नगरपालिकाले जनाएको छ। वडास्तरबाटै गरिएको पहिचानले वास्तविक बिरामीलाई समयमै उपचारमा ल्याउन सहज भएको बताइएको छ।

नगर उपप्रमुख सुस्मिता सापकोटाले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ आँखा सेवा सहज रूपमा उपलब्ध गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले समयमै रोग पहिचान र उपचारले दृष्टि जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

नगरपालिकाले शिविरमा सहभागी बिरामीहरूको यातायात खर्चसमेत व्यहोरेको जनाएको छ। स्थानीय स्तरमै सेवा पाउँदा सहज भएको सहभागीहरूले बताएका छन्।