हाम्रो तेन्जिङ शेर्पाले
चढ्यो हिमाल चुचुरा
गम्केर बज खैँजडी
झम्केर नाच मजुरा...
जनकविकेशरी धर्मराज थापाका शब्द, लय र स्वरमा रेडियो नेपालबाट यिनै गीत गुञ्जन थालेपछि हिमाल र तेन्जिङबारे सारा नेपालीले थाहा पाए । त्यसपछिका दिनमा हिमाल आरोहण र शेर्पा जाति पर्याय जस्तै बन्न पुगेका छन् । उनीहरू कुशल पर्वतारोही हुन् । त्यसैले त विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा रहेका विश्व कीर्तिमान प्रायः शेर्पा जातिमै छ ।
शेर्पा जातिलाई पर्वतारोहणको अनिवार्य पथ प्रदर्शकका रूपमा लिइन्छ । अतः हिमाल आरोहणका लागि विश्वभर प्रख्यात छन्– शेर्पा जाति ।
सगरमाथाको सेरोफेरोका उच्च हिमाली क्षेत्रमा फैलिएका शेर्पा जाति हिमाली संस्कृति, सभ्यता, प्रकृति र परम्परासँग गाँसिएका छन् । इमानदार, परिश्रमी र अहिंसावादीका रूपमा शेर्पा जातिलाई चिनिन्छ ।
शेर्पा भाषाको ‘स्यार’ र ‘पा’ मिलेर शेर्पा शब्द निर्माण भएको भनाइ छ । तथापि यसमा विद्वान्हरूबिच मतभेद पनि छ । स्यारको अर्थ पूर्व र पा को अर्थ बासिन्दा भन्ने लाग्छ । पूर्वमा बसोबास गर्ने कारण शेर्पा भनिएको भन्ने भनाइ पनि छ । मानवशास्त्री हाइमेनडोर्फले सन् १९६४ मा पूर्वी तिब्बतको खाम क्षेत्रबाट बसाइँ सरेर शेर्पाहरू नेपाल प्रवेश गरेको उल्लेख गरेका छन् । उनका अनुसार शेर्पाहरूका पुर्खा रोलवालिङ हिमालको पश्चिमपट्टिबाट रोङस्यार छयु हुँदै दक्षिणतर्फ र त्यसपछि पूर्व क्षेत्रको सोलुतिर बढेका हुन् ।
लेखक ङाग्रवाङ वोसेर लामा शेर्पा लिखित पुस्तक शेर्पाहरूको इतिहास र संस्कृति (२०५८) मा तिब्बती व्याकरण नियमको आधारमा ‘सर’ भन्नाले पूर्वदिशा र ‘प’ स्वामित्व बोधक शब्द भएको र सरप भन्नाले पूर्वदिशामा बस्ने भन्ने अर्थ लाग्ने उल्लेख गरिएको छ ।
शेर्पाको संस्कार, संस्कृति, परम्परा बौद्ध दर्शन अनुरूप छन् । तिब्बत–बर्मेली भाषा परिवार अन्तर्गतको सेरवी ताम्ङे अर्थात् शेर्पा भाषामा बोलचाल गर्ने शेर्पाले सम्बोटा लिपि प्रयोग गर्छन् ।
शेर्पाहरूको पुख्र्यौली थलो सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्र हुँदै दुधकोशी आसपाससम्म फैलिएको देखिन्छ । दक्षिणतिर सुनकोशी नदी कटेर शेर्पाको पुख्र्यौली बसोबास रहेको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनले सूचीकृत गरेका ५९ जातिमध्ये अल्पसङ्ख्यक हिमाली जाति हो– शेर्पा ।
प्रतिष्ठानको वेबसाइटमा शेर्पा जातिबारे यसरी उल्लेख गरिएको छ, “पुख्र्यौली थलो सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्र दुधकोशी तथा सुनकोशी नदीको उपत्यका र त्यस आसपासको भू–भाग हो ।”
प्रतिष्ठानले उल्लेख गरे अनुसार शेर्पाहरू दुधकोशी र सुनकोशी नदीको माथिल्लो भाग सोलखुम्बुबाट पूर्वमा सङ्खुवासभा र ताप्लेजुङ र पश्चिमतिर ओखलढुङ्गा, खोटाङ, भोजपुर, रामेछाप र सिन्धुपाल्चोकसम्म विस्तारित छ अर्थात् सोलुदेखि हेलम्बुसम्म फैलिएका छन् ।
२०७८ को जनगणना अनुसार शेर्पा जातिको जनसङ्ख्या एक लाख ३० हजार ६३७ छ । तीन चौथाइ शेर्पा अहिले पनि आफ्नै थातथलोमा बसिरहेको देखिन्छ । बसाइँ सरेर जानेहरू अधिकांश काठमाडौँमा बस्छन् ।
ल्होसारमा रमाउने
शेर्पा जातिको मुख्य पर्व ल्होसार हो । नेपालमा मनाइने प्रमुख तीन ल्होसार छन्– तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसार । शेर्पाले भोटचन्द्र पात्रो अनुसार फागुन महिनामा ग्याल्पो ल्होसार मनाउने गर्छन् । जस अनुसार १२ लो (बाँदर, चरा, कुखुरा, सुँगुर, मुसा, गाई, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा र भेडा) बर्सेनि परिवर्तन भएर नयाँ वर्षको सुरुवात हुन्छ ।
प्रतिष्ठानद्वारा प्रकाशित शेर्पा जातिको चिनारीमा उल्लेख गरिए अनुसार शेर्पाहरूको संस्कृति, संस्कार र परम्परा बौद्ध दर्शनमा आधारित छ । शेर्पाहरू धार्मिक र सांस्कृतिक गरी दुई प्रकारको चाडपर्व मनाउने गर्छन् । मनिरिम्दु, ञ्युङने, डुम्जी, चिरिम, ओशो आदि उनीहरूका धार्मिक चाडपर्व हुन् ।
ल्होसार, फाकङयी र यारच्याङ सामाजिक चाडपर्व हुन् । धार्मिक चाडपर्वहरू लामा र आनीहरूको उपस्थितिमा मनाउने गर्छन् तर सामाजिक चाडपर्व स्थानीय समुदाय एकठाउँमा भेला भई सामूिहक रूपमा मनाउने गर्छन् ।
जन्मबारमा नाम
शिशु जन्मिएको तीनदेखि सात दिनसम्म राम्रो साइतमा शिशुको नामकरण तथा सुत्केरी चोख्याउने चलन शेर्पा जातिमा छ । शेर्पा जातिमा धेरै जसोको नाम डिमा, दावा, मिङ्मार, ल्हाक्पा, फुर्वा, पासाङ र पेम्बा रहेको हामी देख्न सक्छौँ । त्यसैले पुरुष र महिलाका नाम पनि मिलेको पाइन्छ । यसको कारण हो उनीहरूमा जन्मबारका आधारमा नाम राखिने चलन छ ।
न्वारानका बेला आफन्तहरूले शिशुको हातमा दक्षिणा राखी मुख हेर्ने र बाबुआमालाई खादा लगाइदिने चलन छ । न्वारानका बेला रुखको अग्लो हाँगामा ध्वजा टाँगी मूलढोकामा गाड्ने चलन छ । छोराको न्वारान भए दायाँतिर र छोरी भए बायाँतिर गाडिन्छ ।
शेर्पा समुदायमा जन्मदिन मनाउने चलन नभए पनि अचेल अन्य जातजातिमा जस्तै जन्मदिन मनाउने संस्कृति फैलिँदो देखिन्छ ।
मामाको महत्व
छोरीका सन्तान मावलीमा नै हुर्काइने प्रचलन शेर्पा जातिमा छ । त्यसैले पनि सायद शेर्पा जातिमा मामाको महìव उच्च पाइन्छ । मामाको छोरालाई पनि मामा र नातिलाई समेत मामा साइनो सम्बन्ध रहने अनौठो चलन छ तर मामाको छोरीलाई क्ष्यामा (सानीआमा) अर्थात् आमा समान मान्ने प्रचलन शेर्पा जातिमा छ ।
शेर्पा जातिमा आमा वा बुवा दुवैतर्फका सात पुस्तासम्म विवाह चलाउन हुन्न भन्ने मान्यता रहेको छ । त्यसैले विवाहमा स्वाँगेभाइ र कुटुम्ब छुट्याउने विषयमा उनीहरू निकै संवेदनशील बन्ने गर्छन् । यो जातिमा ‘रु’ अर्थात् थरको आधारमा कुटुम्ब र स्वाँगेभाइ छुट्याउने गरिन्छ । जस्तै– लामा र च्यावा रु हुनेको अन्य जुनसुकै रु सँग बिहेबारी चल्छ । पिनाशा, गर्जा, गोले, टाक्तोक, खापा ‘रु’ हरूबिच एकआपसमा स्वाँगेभाइ पर्छन् अर्थात् विवाह चल्दैन ।
सलाका, गोपर्मा, खम्बचेबिच पनि चेली माइती पर्दछन् अर्थात् बिहेबारी चल्दैन । त्यसैले यो जातिको विवाह संस्कार अलि जटिल र रोचकसमेत मानिन्छ ।
विवाहमा छ्याङ र खाप्से
शेर्पा जातिमा परम्परागत मागी विवाह चलनचल्तीमा छ । तथापि प्रेम विवाह पनि देखिने गरेको छ ।
शेर्पा जातिको परम्परागत विवाहमा ठिज्यङ, लोङज्यङ, पेज्यङ, देन्ज्यङ, सुजर्यङ, सिल्ज्याङलगायत थुप्रै विधि पूरा गर्नुपर्ने हुन्छ । शेर्पा जातिमा विवाहका लागि योग्य केटाकेटीबिच जन्मवर्ष (लोर्ता) का आधारमा जोखना हेराउने गरिन्छ ।
केटाकेटीबिच मन पराएर भए पनि जोखना हेरी जीवन राम्रो नराम्रो के हुन्छ भनेर हर्ने चलन छ । सबै ठिकठाक भए मात्र सगुन लिई केटी माग्न आउने खबर केटी पक्षकोमा पठाइन्छ । सबै कुरा ठिक भएमा सगुन लिएर केटी माग्न आउँछौँ भनी केटीको माइतमा खबर पठाइने गरिन्छ ।
यहाँसम्मको विवाह प्रक्रियालाई ठिज्यङ भनिन्छ । यदि केटी पक्षबाट सकारात्मक जवाफ आएमा सातु र नौनी घिउ मिसाएर बनाएको फेमार, छ्याङ र खादा लिएर केटी माग्न जाने चलन छ । यस्तो चलनलाई लोङज्यङ भनिन्छ । केटाको प्रतिनिधि भई विवाहबारे सोध्न जाने कार्यलाई पेज्यङ भनिन्छ । यसबेला पनि छ्याङ र खादा अनिवार्य लैजानुपर्ने हुन्छ । विवाहका लागि छ्याङ अनिवार्य बनाउनु पर्दछ । त्यसका लागि छ्याङ बनाउन भनेर केटाका तर्फबाट माइतीलाई अन्न या नगद दिने चलन पनि छ । यसलाई छ्यावी भन्ने गरिन्छ । विवाहका लागि आफन्तलाई निम्ता दिने कार्यलाई देन्ज्यङ पठाउने भनिन्छ ।
विवाहमा केटा पक्षबाट धर्मचक्र सिपखोलु लगिन्छ । सिपखोलुलाई माइतीको दिशातर्फ फर्काएर राखिएको हुन्छ । लामा पुरोहितले ग्रहशान्ति, कुलदेवता र सिपखोलुको पूजा गर्छन् । जन्तीको सबैभन्दा अघिल्तिर सिपखोलु लगाइन्छ । केटीको घरमा पुगेपछि सिपखोलुलाई बेहुलाको घरतर्फ फर्काइन्छ । बेहुलाको घरबाट जन्ती प्रस्थान गर्ने बेला छ्याङ, दुध वा दही, खाप्से सगुन राखिन्छ । यस्ता सगुन दुलहाका दिदीबहिनीले राख्ने र त्यसबापत दुलहाले उपहार दिने चलन छ । यस कार्यलाई सुजर्यङ भनिन्छ ।
दुलहीको घरमा पनि जन्तीलाई छ्याङ, दुध वा दही र खाप्सेसहितको सगुनले स्वागत गर्ने चलन छ । जन्तीलाई बेहुलीको आमाबुवाले छ्याङ दिएर चिनजान गर्छन् । यस कार्यक्रमपछि बेहुलाको कपडा फेर्ने कार्य गरिन्छ । जसलाई सिल्ज्याङ भनिन्छ ।
शेर्पा जातिको विवाहमा बेहुलाबेहुलीको टीकाटालो सम्पन्न भएपछि जन्ती आएकाहरू चौँरीको पुच्छर र तरबार लिई झ्याम्टाको तालमा एहोक एहोक... भन्दै सिली नाच नाच्न थाल्छन् । कोही गीत गाएर शेर्पा स्याब्रु नाच्छन् । जन्तीलाई माइतीपक्षले खादा लगाएर बिदा गर्छन् । यो जातिमा पनि विवाहपछि नवविवाहिता जोडीलाई माइतीघरमा भित्र्याउने कार्य गरिन्छ ।
मृतकको पुत्ला बनाई भोजन
शेर्पा जातिको मृत्य संस्कार लामा धर्मगुरुबाट बौद्ध संस्कृति अनुसार गरिन्छ । लामा धर्मगुरुले पाठपूजा गरी फोवा हाल्नु पर्दछ । शवलाई पवित्र पानी (ठु) ले नुहाई दिएर सेतो कपडाले बेरी सजाइएको स्थानमा राखिन्छ ।
लामा गुरुबाट शवको अन्त्येष्टि गर्ने साइत निकालिन्छ । यसरी साइत हेराएर तीन दिनदेखि एक हप्तासम्म घर वा मृत्यु संस्कार गर्ने गुम्बाहरूमा पूजापाठ गरिन्छ । यस्तो कार्यमा आफन्तहरू धूप, छोव (प्रसाद) लिएर जाने चलन छ । यो जातिमा शव जलाउने गरिन्छ । शवमा आगो लागेपछि मलामीलाई पैसा दिने गरिन्छ । यस्तो चलनलाई लक्पा रब्चे भनिन्छ ।
अन्त्येष्टिपछि मृतकको पुत्ला बनाई बिहान बेलुका खाना दिने अनौठो चलन शेर्पा जातिमा छ । उनीहरूलाई के विश्वास छ भने मृत्युपछि मृतकको आत्मा घरपरिवारको वरिपरि नै घुमिरहन्छ । यसरी पुत्लालाई खाना दिन एक जना लामा पुरोहित राख्ने गरिन्छ । यस्ता पुरोहित घ्यवासम्म राखिन्छ । तीनदेखि सात हप्तासम्म गरिने यस्तो कार्यलाई तेन स्योम्बु अर्थात् सातु पाल्नु भनिन्छ । शेर्पाहरूको मृत्यु संस्कारमा फोवा ग्यकु, थोटोल रोकु, ठुसोल खिरु, रो गोङगु, सेम्सो खिरु, केम्क्षाङ गेङगुलगायत विधि गरिन्छ ।