बोटे जातिको खास पहिचान– नदी किनारमा बसोबास हो तर खेतीपातीमा खासै ध्यान र ज्ञान बोटे जातिमा पाइन्न । नदीमा डुङ्गा तार्ने र जाल थापेर माछा मार्ने पेसामै यो जातिको सिप, ज्ञान र रुचि देखिन्छ । तथापि बोटे जातिको पेसा सङ्कटमा छ ।
नदी किनारमा डुङ्गा चलाउने, माछा मार्ने पेसाकै कारण माझी र बोटेमा धेरै समानता देखिन्छ । डोरबहादुर विष्टले सबै जातको फूलबारी (२०५५, सातौँ सं.) मा “थारू, बोटे, माझी, दनुवार, दरै आदिमा एक जातले अर्को जातसँग बिहे गर्न हुन्छ । यस्तो गरेपछि जन्मेका छोराछोरीमा छोराले बाबुको जात र छोरीले आमाको जात लिन्छन् ।” उल्लेख गरेका छन् ।
शरद्चन्द्र शर्माले नेपाल र यसका निवासी (२०४५) पुस्तकमा “माछा मार्ने, डुङ्गा ख्याउने काम गरी जीविका चलाउने माझी, बोटे र दरैलाई त झन् जलचर वा जलजीवी जाति नै हो भने पनि बाधा पर्दैन ।” उल्लेख गरेका छन् । यस्तै भोजराज थपलियाले बोटे जाति एक परिचय (२०४५) मा “चेपाङ झैँ बोटे जाति पनि हत्तपत्त कसैलाई आँत भेउ खोल्दैनन् अथवा उनीहरू सङ्कोची स्वभावका हुन्छन् र अपरिचित व्यक्तिसँग खुलेर कुरा गर्दैनन् ।” भनेका छन् ।
थपलियाका अनुसार उनीहरू सोझा छन् र उनीहरूको व्यवहार पनि एकदम सरल छ । नौलो मानिसप्रति उनीहरू जिज्ञासु चाहिँ बन्छन् तर त्यसप्रति शङ्कालु दृष्टि चाहिँ उनीहरूको रही नै रहन्छ ।
थपलियाका अनुसार माझी, बोटे र कुसहरबीच कुनै तात्त्विक अन्तर छैन । उनले भनेका छन्, “माझी र बोटेका बीचमा कुनै ताìिवक अन्तर छैन । अन्तर नामको मात्र हो । यो नाम स्थानगत कारणले फरक परेको हुन सक्छ । पश्चिम पहाडतिर जसलाई बोटे भनिन्छ त्यसै जातिलाई पूर्वी पहाडमा माझी र चितवनतिर कुसहर भनिन्छ । माझी, बोटे र कुसहर एउटै जातिका भिन्नाभिन्नै नाउँ हुन् ।”
नेपालमा मकवानपुर, चितवन, नवलपरासी, पर्साको पश्चिमी भेग, पाल्पा, तनहुँ, गुल्मी, लमजुङ, स्याङ्जा, बागलुङ, पर्वत, गोरखा, कास्की, उदयपुर, चितवनको ठोरीलगायत क्षेत्रमा बोटे जातिको बसोबास पाइन्छ । चितवनको माडीको वनकट्टा क्षेत्रमा बोटे जातिको बसोबास अन्यत्रभन्दा बढी रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार बोटे जातिको जनसङ्ख्या १० हजार ३९७ थियो । राष्ट्रिय जनगणना २०७८ ले यो सङ्ख्या ११ हजार २५८ देखाएको छ । जसमा पुरुष पाँच हजार ५८० र महिला पाँच हजार ६७८ छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ जातिमध्ये बोटे जातिलाई अति सीमान्तकृत १२ जातिमध्येमा राखिएको छ । बोटे जातिको आफ्नै भाषा, संस्कृति, वेशभूषा, परम्परा, रीतिथिति, चालचलन छन् । अन्य समुदायसँग त्यति घुलमिल हुन नचाहने यो जाति बलिया, मेहनती, परिश्रमी हुन्छन् ।
जल र जङ्गलमा निर्भर जीवनशैली भएका बोटे पुख्र्यौली पेसाबाट विस्तारै विस्थापित बन्दै छन् । जङ्गलमा सिकार खेल्ने र खोलानालामा माछा मार्ने, नदीमा डुङ्गा चलाउने, नदी किनारमा बालुवा चालेर सुन खोज्ने पुख्र्यौली पेसामा रमाएका बोटे जातिको पेसा प्रायः विस्थापन भइसकेको छ ।
उनीहरू कुनै समय त्रिशूली, बुढीगण्डकी, मस्र्याङ्दी र कालीगण्डकीसम्म पुगेर बालुवा चाल्दै सुन खोज्थे । नदीका माछा ठेक्का लगाउन थालिएपछि तथा झोलुङ्गे पुलको विस्तारसँगै उनीहरू वैकल्पिक श्रममा जान बाध्य भएका हुन् । डुङ्गा चलाउने पेसा पूर्णतः विस्थापन भए पनि नदीमा बालुवा चालेर सुन खोज्ने र माछा मार्ने कार्यलाई चाहिँ कतिपयले निरन्तरता दिँदै आएको देखिन्छ ।
यसको उदाहरण हो– दमौलीबाट बोटे विस्थापन ।
बन्दीपुरबाट २०२५ सालतिर तनहुँ सदरमुकाम दमौलीमा सारिने भएपछि बोटे समुदाय विस्थापित बन्न पुगेका थिए । बोटे समुदायलाई विस्थापनमा जाने स्थान रोज्न लगाउँदा उनीहरूले मादीनजिकको टार रोजे । जुन टार अहिले बोटेटारका रूपमा परिचित छ । दमौली छाड्दा १६ घरपरिवार थिए । अहिले बोटेटारमा ३२ भन्दा बढी घरधुरी रहेका छन् ।
सरकारले उनीहरूलाई विस्थापनमा जाँदा प्रतिपरिवार १५ रोपनी जग्गा दिएको थियो तर अहिले १५ रोपनी जग्गा हुने बोटे बोटेटारमा कोही छैन ।
बोटे जातिको आफ्नै भाषा छ । उनीहरू आफ्नो भाषालाई बोटे भाषा भन्छन् । तथापि मातृ भाषा बोल्ने नयाँ पुस्ता कमी हुँदै गएको छ तर यो जातिमा मृतक परेको अवस्थामा किरिया बस्ने पुरुषले आफ्नो भाषा अनिवार्य बोल्नै पर्ने संस्कार चाहिँ अझै देखिन्छ ।
रोचक विश्वास
बोटे जातिमा केही विचित्र विश्वास र चलन पाइन्छ । मध्यरातमा जाल बोकेर एक्लै नदीमा माछा मार्न जाने बोटेहरू त्यसरी जाँदा जालको गोटी (फलामबाट बनेको) मुखमा राखेर हिँड्छन् । यसो गर्दा भूत, प्रेत, मसानले दुःख दिन सक्दैन भन्ने विश्वास उनीहरूमा छ ।
बोटे जातिमा केटी माग्न जाँदा दुलाहातर्फबाट एक पाथी रक्सी अनिवार्य लैजानु पर्दछ । यसलाई उनीहरू ‘कलियो’ भन्छन् । केटीका बाबुले यो ‘कलियो’ समातेपछि केटी पक्का भएको मानिन्छ । बोटे र माझीले बाहुनले पकाएको दाल खाँदैनन् । बोटे जातिमा भाउजू बेहोर्ने चलन पनि थियो ।
पाखा बोटे, पानी बोटे
बोटे जातिका पनि विभिन्न थर छन् । बोटे जातिमा पाखा बोटे र पानी बोटे छन् । यी थरका पछाडि रोचक किंवदन्ती बोटे समाजमा प्रचलित छ ।
मस्र्याङ्दी नदी किनारमा डुङ्गा तार्ने काम गरी दाजुभाइ बस्थे । एकदिन गोरखकाली प्रकट भइन् र आफूलाई पारि तारिदिन आग्रह गरिन् ।
उनीहरूले तारिदिए । गोरखकालीले भाडा दिनुको सट्टा नदीको बालुवा उठाएर लु थाप भनिन् । दाजुभाइ छक्क परे । उनीहरूसँग बालुवा थाप्ने भाँडा थिएन । माछा हाल्ने जावीमा बालुवा थापे । प्वालैप्वाल परेको जावीमा बालुवा के अडिन्थ्यो ? पानीमा झ¥यो । गोरखकाली त्यहीँ अन्तरध्यान भइन् ।
पानीमा झरेको बालुवा त सबै सुन जस्तै टल्कियो । ती दुईमध्ये एक भाइ सुन छोप्न मस्र्याङ्दी नदीको किनारै किनार दौडियो । एक भाइ पाखामा बसेर हेरिरह्यो । पाखामा बसेर रमिता हेर्ने पाखा बोटे भयो । सुन छोप्न दौडिने पानी बोटे भयो । पानी बोटेलाई सुन्धुवा पनि भनिन्छ । तनहुँमा बोटे दुई थरी छन्– पानी बोटे र पाखे बोटे । व्यास नगरपालिका–५ को कुमालटारीस्थित बोटेटारमा बस्नेहरू आफूलाई पानी बोटे भन्न रुचाउँछन् ।
सुन खोज्ने आफैँ गरिब
हिउँदमा नदी किनारमा जानु र बालुवा चालेर सुन खोज्नु बोटेको दैनिकी जस्तै हो । उनीहरू अहिले पनि मस्र्याङ्दी नदी किनारमा बालुवा चालेर सुन खोज्ने कार्य गरिरहेकै छन् । तथापि उनीहरूको आर्थिक विकास चाहिँ अपेक्षित हुन सकेको छैन ।
उनीहरूमा अहिले पनि त्रिशूली, बुढीगण्डकी र कालीगण्डकी नदीको किनारासम्म पुगेर बालुवा चालेर सुन निकाल्ने ज्ञान, सिप, लगनशीलता छ ।
कुन बालुवा चाल्दा सुन निक्लन्छ भन्ने ज्ञान, बुद्धि उनीहरूमा छ । काठको फलेकमा बालुवा राखेर पानी छ्याप्दै विस्तारै बालुवा बगाउने र सुनका कण फल्याकमा थिग्य्राउने कला उनीहरूमा छ । त्यसलाई पगालेर, खारेर, सुन निकाल्ने ज्ञान, बुद्धि उनीहरूमै छ ।
पाखा बोटे र पानी बोटे थरीहरू कालीगण्डकी आसपासका बोटे जातिका थर हुन् । तथापि नेपालका विभिन्न नदी किनारमा छरिएर रहेका बोटे जातिका थर निम्न छन्– मुखिया थरे, चौतारे, गउरउ, हाँडीफोरे, गोट्लेर, लउरै, मिजार, सुनधुवा, पाखा बोटे, कछारे, थर बोटे, कुसहर, मुसहर बोटे, मारुनी आदि ।
चितवन र नवलपरासीलगायत भित्री मधेश र मधेशका बोटे वा माझीलाई कुसहर वा मुसहर भन्ने गरिएको छ । ‘कछार’ भन्नाले पहाड र तराईबीचको भूभाग भित्री मधेशलाई जनाउँछ । त्यसैले पनि सो क्षेत्रमा पुस्तौँदेखि बस्दै आएका, औलो पचाएका यी जातिलाई ‘कछारे’ भनिएको हुन सक्छ । कतिपय अन्य जातिका थरसमेत काम र वासस्थानकै आधारमा निर्माण भएको पाइनुले पनि ‘कछारे’ थरी बोटेको थर निर्माणमा यसको प्रभाव देखिन्छ ।

आफ्नै संस्कृति संस्कार
बोटे जातिको आफ्नै पर्व र परम्परा छन् । हिन्दुले मनाएका पर्व मनाए जस्तो देखिए पनि उनीहरूले पर्व मनाउने परम्परा फरक छ । जस्तै : माघेसङ्क्रान्तिमा बोटेले पितृपूजाको अवसरका रूपमा मनाउँछन् । नदीमा गएर नुहाएपछि बत्ती बाली फूल अक्षताले पूजा गरिन्छ । यो कार्य मृतकका छोराले गर्दछन् । त्यसपछि मुठी चामल उठाइन्छ । रोटी, मासको दाल, अदुवा, सुन्तला केरा पितृलाई चढाइन्छ ।
उनीहरू चण्डी पूर्णिमा (वैशाख पूर्णिमा) बलि दिएर मनाउँछन् । उनीहरूको आफ्नै कुल पूजा पनि हुने गर्छ । यस्तो पूजामा आफ्नो कुल देवतालाई सेतो भाले चढाउँछन् । ठुलो रुखको फेदमा ढुङ्गा राखेर त्यसैलाई देवता मानी पूजा गर्छन् ।
त्यस्तै वैशाखमा झाँक्री पूजा गर्छन् । भदौमा वायु पूजा पनि गर्छन् । बोटे जातिले हरेक वर्षको असार १ गते कुलदेवता ‘राजाजी’ को पूजा गर्दछन् । मनहरीका बोटेले देउराली सिमलको रुखको फेदमा सामूहिक पूजा गर्ने थलो बनाएका छन् । साउने सङ्क्रान्तिमा खोला, घाटमा गएर पूजा गर्ने चलन छ ।
बोटे जाति एक परिचय (२०४५) मा भोजराज सत्यालले उल्लेख गरे अनुसार बोटे जातिले दसैँलाई समेत स्वागत गर्दछन् । तथापि दसैँमा उनीहरू कुलायन पूजा गर्दछन् । दसैँको महानवमीको दिन भण्डार कोठा सफासुग्घर लिपपोत गरी भुइँमा चामलको पिठोको रेखी हाल्छन् । दुनामा पूजा सामग्री राखी बत्ती बाली आफ्ना इष्टदेवताको आराधना गर्दछन् । फलफूल, जाँडरक्सी चढाएर कुलदेवताको नाम स्मरण गरी बलि चढाउँछन् । उनीहरू पहिला राँगो चढाउँथे । अहिले पाठो या कुखुरा पनि चढाउने गरिएको छ । उनीहरूमा मान्यजनबाट टीका लगाउने, आशीर्वाद लिने चलन पनि छ । यो चलन हिन्दुबाट प्रभावित हुन सक्छ ।
उनीहरू चैतेदसैँका बेला कालिका माईको पूजाआराधना गर्दछन् । यस्तो पूजा दसैँको अष्टमी वा दशमीमा गरिन्छ । पूजा सामग्री तयार भएपछि पुजारी यसरी फलाक्छन्–
तानसेनइँ क्यारे भगवती स्थान
रिडी क्यारे ऋषिश्वर
नेपाल क्यारे पशुपतिनाथ
सम्दी क्यारे सुनेसिद्ध...
पुजारी र मादले दुई दुई जना हुन्छन् । पुजारीले फलाक्दै जान्छ । मादलेले ताल मिलाउँदै जान्छ । यस व्रmममा भूमि बाँध्ने काम पनि पुजारीले गर्दछन् । पुजारी फलाक्दै जान्छन्–
पूर्वकइ बाँधउँ
पश्चिमकइ बाँधउँ
उत्तरह बाँधउँ
दक्षिणह बाँधउँ.. ।
यो क्रम मध्यरातसम्मै चल्छ । त्यसपछि पाठो, कुखुरा बलि दिएर भक्तजनलाई प्रसाद वितरण गरिन्छ ।
बोटे जातिले नागपञ्चमी पनि मान्दछन् । नागपूजा गरेमा चट्याङ, बाढी, पहिरो जस्ता विपत्तिबाट रक्षा हुन्छ, नाग लाग्दैन, सुद समृद्धि हुन्छ भन्ने विश्वास उनीहरूमा छ । बोटे महिलाले तिज, तिहार पनि मनाएको देखिन्छ । गोवर्धन पूजालाई उनीहरू गोडीपूजा भन्दछन् ।
बोटे जातिले चण्डीपूर्णिमा पनि विशेष रूपमा मनाउँछन् । चण्डीको पूजा वैशाख महिनाको पूर्णिमाको दिन गरिन्छ । तनहुँ, पाल्पा र बागलुङका क्षेत्री, बाहुनले बोटेद्वारा नै चण्डीपूजा गराउने गरिएको ‘बोटे जाति एक परिचय’ उल्लेख छ । चण्डीपूजामा राँगो बलि दिने प्रथा छ । यसबेला पनि मादलको विशेष वादन गरिन्छ । चण्डीपूजामा बोटेहरू नै पुजारी हुनुपर्ने र बोटेबाटै बलि दिनुपर्ने प्रचलन छ । चण्डीपूजामा सात जना पुजारी हुन्छन् । चारैदिशा घुमी घुमी उनीहरू फलाक्न थाल्छन्–
पूर्वकइ ढोकह
पश्चिमकइ ढोकह
उत्तरकइ ढोकह
दक्षिणकइ ढोकह
उनीहरूले मालखाडा मेला (माघेपूर्णिमा), मुन्थला मेला (हरिबोधिनी एकादशी), भैरवी मेला जस्ता पर्वसमेत मनाउँछन् । विशेष गरी वायु पूजा, जलदेवी पूजा, भीमसेन पूजा, सिकारी पूजा, माई पूजा र वनदेवीको पूजा गर्दछन् । उनीहरू वायु पूजा धामीझाँव्रmीद्वारा गराउँछन् । जलसँगको जीवन सम्बन्ध बोटेको अटुट रहेकाले उनीहरू विशेष गरी जलदेवीको आराधना, पुकारा गरी पूजा गर्दछन् । यस्तो पूजा मङ्सिरमा गरिन्छ । इष्टदेवका रूपमा भीमसेनको पूजाआराधना गर्दछन् ।
झाम्रे बस्ने, मनका बह साट्ने
बोटे जातिमा नाचगान र रामरउसमा रमाउने जातीय गुण छ । स्थानीय मेलामा उनीहरूको उपस्थिति प्रायः हुन्छ नै । खास गरी मालखाडा मेला (माघे मेला), मुन्थला मेला, भैरवी मेलामा नाचगान र जुवारी खेलमा उनीहरू रमाउँछन् । उनीहरू झाम्रे बस्न र सामूहिक रूपमा नाचगान गर्न रुचाउँछन् । झाम्रे बस्दा विशेष गरी युवकयुवती, बयस्क जम्मा हुन्छन् । नाचगान र जुवारी गाउँछन् । युवकयुवती आफ्नो मनका बह साट्छन् ।
नाचगानमा भाग लिन महिलालाई कुनै रोकतोक पाइन्न । उनीहरूको लोकप्रिय नाच झाम्रे हो र मुखुन्डो खेल पनि परम्पराका रूपमा रहेको छ । मरौटो परेको घरमा १२ औँ दिनको रातको तेस्रो प्रहरमा मुखुन्डो खेल प्रदर्शन गरिन्छ ।
यो अभिनयात्मक हुने हुँदा लोकहास्य नाटक वा खेल वा मनोरञ्जनको पक्षसमेत बोकेको हुन्छ । यस खेलमा जनावरको मुखुन्डो लगाई जनावरको हाउभाउ प्रस्तुत गरिन्छ । यसमा मुख्य गरी बाघ, बाँदर, मृग, सिकारी, लामा र कुकुर पात्रका रूपमा रहेका हुन्छन् ।
विवाहमा पातलो दुध चल्ने
बोटे जातिमा मामाचेली, फुपूचेली विवाह परम्परा थियो । यो जातिमा प्रेम विवाह, मागी विवाह र जारी वा पोइल विवाहलाई सहर्ष स्वीकार गरिन्छ । विवाहका लागि केटी खोजी गर्दा बाक्लो दुध वा पातलो दुध भनेर साइनो केलाउने काम गरिन्छ । बाक्लो दुधको नातामा दिदीबहिनी, दाजुभाइका छोराछोरी अथवा साह्रै नजिकका र परिवारका सदस्य जस्ता आफन्त पर्दछन् । पातलो दुधको नातामा छोरीका छोरी वा दिदीबहिनीका छोरीका छोरीमा दोस्रो पुस्ता पर्दछन् । यो जातिमा केटाकेटी मन पराएर आफूखुसी बिहे गरे पनि त्यस विवाहलाई सामाजिक मान्यता दिलाउन जातीय विधिविधानमा छिर्नैपर्ने हुन्छ । केटा पक्षबाट केटीका बाबुआमाले सगुन बुढी ढोगभेट नगरेसम्म विवाहले सामाजिक मान्यता पाउँदैन ।
बोटेको मगनी विवाहमा लमीको आवश्यकता हुन्छ । भोजराज थपलियाका अनुसार प्रथम चरणको कुरा राख्ने कार्य लमीले नै गर्दछ । केटी माग्न जाँदा खासगरी गोरखातिर एक पुङ रक्सी लगिन्छ । यसलाई ‘कलियो हाल्नु’ भनिन्छ । केटीका बाबुआमाको घरमा गई कलियो हाल्न जाने व्यक्तिले आलङ्कारिक भाषामा माग्छ–
ठुलो वृक्षको ओत लाग्न आएका थियौँ
शीतलु छाया पाइन्छ कि पाइँदैन ?
दुलही तर्फकाले ‘पाइन्छ’ वा ‘पाइँदैन’ भनेर जवाफ फर्काउँछन् । यसैलाई स्वीकृति वा अस्वीकृति भनेर बुझिन्छ । स्वीकृत भएकी केटी अन्यत्रै हिँडेमा कुरा छिनिएकी केटीकी बहिनी जिम्मा लगाउनुपर्ने हुन्छ ।
तनहुँ, पाल्पा आदि जिल्लामा सगुन प्रथाले बढी चर्को रूप लिएको पाइन्छ । त्यहाँ लमीको सट्टा खुदै केटाको बाउ एक पेरुङ्गो रोटी, सगुन लिई केटीको बाबुसमक्ष हाजिर हुनु पर्छ । उक्त सगुन समाउनु नै स्वीकृतिको चिह्न हो तर गोरखामा चाहिँ ‘पाइन्छ’ भने पछि नै स्वीकृति जनिइन्छ र त्यसपछि सगुन समाइन्छ ।
केटी छिनीसकेपछि दुई घैँटा जाँड, १२ पाथी चामल र ३३ रुपियाँ दुलहीका घरमा बुझाउनुपर्ने चलन गोरखातिर रहेको बोटे जाति एक परिचय (२०४५) पुस्तकमा उल्लेख गरिएको छ ।
दाम्लोले बाँधेर व्रतबन्ध
बोटे जातिको जातीय संस्कारमा छैटी, न्वारान, भातखुवाई र छेवार प्रचलनमा छ । बोटे जातिमा छैटी अनिवार्य संस्कार होइन । बोटे जातिमा ११ दिनमा न्वारान गर्ने चलन छ । तथापि आवश्यकता अनुसार ५, ७ र ९ दिनमा समेत न्वारन गर्न सकिन्छ ।
छोराको पास्नी छ महिना र छोरीको पाँच महिनामा गर्ने चलन छ । उनीहरू यसलाई भातखुवाई भन्छन् । छोराको छेवर ५, ७, ९ वा ११ बिजोर वर्षमा गर्ने गर्दछन् । गाईको गोठमा लगेर दाम्लोले वटुकलाई बाँधेर कपाल मुण्डन गरिन्छ । केशमुण्डन मामाले गरी टोपी लगाइदिने चलन छ ।
मेचीदेखि महाकाली (२०३१) भाग ३ मा “व्रतबन्धबाहेक बोटे जातिको विवाह आदि सबै चलन बाहुन क्षेत्रीकै जस्तो हो । यिनीहरू पनि दरै जातिको जस्तै सोराहे गरी मृत्यु संस्कार गर्दछन् ।” भनिएको छ ।
मृतको मूर्तिमा पाडोको बलि
बोटे जातिमा शव दहन गर्ने चलन छैन । उनीहरू नदी किनारमा लगी खाल्टो खनी शवलाई उत्तानो पारी मुखमा दागबत्ती दिएर दबाउँछन् । समाधि स्थलमा चोखो कपडाको ध्वजा र फूल राखिन्छ ।
समाधि स्थल बनाउन प्रयोग भएको कोदालोको बिँड पनि त्यहीँ राखिन्छ । किरियापुत्रीले घाटमा नै केशमुण्डन गर्दछन् । मलामी फर्कंदा एक मुठी चामल र पैसा बाटोमा राख्छन् । जसलाई बुर्की भनिने थपलियाले उल्लेख गरेका छन् । किरियाकर्मको ११ औँ दिनमा मूर्ति पूजा प्रारम्भ हुन्छ । बोटेका पुजारी ज्वाइँ भान्जा हुन्छन् ।
उखुको चार टुक्राले मृत व्यक्तिको ढिकुरा प्रतिमूर्ति निर्माण गरिन्छ । पुरुष मृतक भए सेतो र महिला मृतक भए रातो कपडाले मूर्ति ढाकिन्छ । त्यस मूर्तिमा पाडो काटी भोग दिने चलन छ । त्यसपछि भोज त्यहीँ खाएर मूर्ति वरिपरि पङ्क्तिबद्ध भएर विरह भाका अर्घोका गीत गाउँदै नाच सुरु गर्दछन् ।
किरियाको मुख्य काम १२ औँ दिनमा हुन्छ । यो श्रद्धाञ्जलि जुलुस नै भन्दा हुन्छ । यसमा किरियापुत्री, मलामी र भेला भएका कुलकुटुम्ब, इष्टमित्र सबै खुँडा, खुकुरी, जावी, कमेरो, सिस्नो, सेउला अँगार लिएर अर्घोका गीत गाउँदै नदीतिर जान्छन् । यसमा घोडचढी, कुकुर र स्याल पात्र अनिवार्य हुन्छ । यी पात्रले नाच्दै, विलाउन गीत गाउँदै खुँडा खुकुरी लिएर
नाच्दै घर फर्कन्छन्–
सिरिम सालक पछेउरी मोरो उरालि नधोए
विरानो देश मइँ मरी गेउँ समझी नरोए
–युवामञ्च