• २० फागुन २०८२, बुधबार

नौ हजार मतदातालाई एउटै मतदान केन्द्र

blog

टीकापुर नगरपालिका–१ स्थित खड्ग स्मृति मावि केन्द्र । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, फागुन २० गते । टीकापुर नगरपालिका–१ स्थित खड्ग स्मृति माविका करिब नौ हजार मतदाताका लागि मत हाल्न तयारी गरिएको छ । यस केन्द्रमा आठ हजार ९११ मतदाता रहेका छन् भने नौ वटा बुथमा छ जनाका दरले ५४ जना कर्मचारी र ६१ प्रहरी खटिएका छन् । 

ठूलो सङ्ख्यामा कर्मचारी र मतदाताको उपस्थिति हुँदा भीड घटाउन प्रवेशद्वारमै क्रम सङ्ख्या र मतदान गर्ने बुँथको बिवरण राखिएको र अपाङ्गता, अशक्त, गर्भवतीलाई लाइन लाग्न नपर्ने व्यवस्था मिलाएको मतदान अधिकृत कैलाशकुमार डगौरा थारुले बताउनुभयो ।

टीकापुर नगरपालिका–१ मा २२ हजार ९०९ मतदाता छन् । उनीहरुका लागि खड्ग स्मृति माविमा नौ वटा, वीरेन्द्र विद्या मन्दिर माविमा आठ वटा र टीकापुर बुहुमुखी क्याम्पसमा छ वटा बुथहरु राखिएका छन् । जनमत सङ्ग्रहदेखि हालसम्म सबै चुनावमा मतदान गर्दै आउनु भएका मतदाता फिरुलाल चौधरीले निर्वाचनको समय नजिकिँदै जाँदा उत्साह बढ्दै गएको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ कैलालीका निर्वाचन अधिकृत देवराज भारतीले मत पेटिका सङ्कलन भए लगतै सर्वदलीय बैठक गरेर टीकापुर सीटी हलमा मतगणनाका लागि विद्युत, माइक, सीसी क्यामेरा, तारजाली लगाएर तयारी अवस्थामा राखेको बताउनुभयो ।

निर्वाचन आयोगले सुरक्षाका दृष्टिले यस क्षेत्रलाई अति संवेदनशील क्षेत्रका रुपमा लिएको छ । यस निर्वाचन क्षेत्रमा २३ वटा वडाका एक लाख आठ हजार ४९१ मतदाता छन्।