• १७ चैत २०८२, मङ्गलबार

रास्वपा सभापति लामिछाने र आजपा अध्यक्ष साहबिच भेटवार्ता

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने (दायाँ) र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभू साह ।

काठमाडौँ, चैत १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभू साहबिच भेटवार्ता भएको छ। 

सभापति लामिछानेको बूढानिलकण्ठस्थित निजी निवासमा भएको उक्त भेटघाटमा मुलुकको वर्तमान राजनीतिक अवस्था र आगामी सहकार्यका विषयमा गहन छलफल भएको छ।

भेटका क्रममा सभापति लामिछानेले सरकारले मधेश प्रदेशको विकास र मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराउनुभयो। लामिछानेको सो भनाइप्रति अध्यक्ष साहले खुसी व्यक्त गर्नुभएको थियो।

भेटवार्तामा दुवै नेताहरूले हालै सम्पन्न निर्वाचनको जनमतले देश र अझ विशेषगरी मधेश क्षेत्रले परिवर्तन चाहेको स्पष्ट देखिएकोमा जोड दिनुभयो। उक्त जनमतलाई आत्मसात् गर्दै पारस्परिक सहयोग र सहकार्यमार्फत अगाडि बढ्ने विषयमा उहाँहरूबिच सकारात्मक छलफल भएको जनाइएको छ।

सोही अवसरमा आजपा अध्यक्ष साहले राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति लामिछानेलाई औपचारिक रूपमा बधाई ज्ञापन गर्नुभएको जानकारी सभापति लामिछानेको सचिवालयले जनाएको छ ।