• १६ चैत २०८२, सोमबार

सडक ऐनको संशोधन विधेयक पारित

blog

विधेयक पारित गर्ने क्रममा हात उठाएर समर्थन जनाउँदै प्रदेशसभा सदस्यहरु । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, चैत १६ गते । गण्डकी प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गतको पाँचौँ बैठकले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।

शनिबार भएको बैठकबाट विधेयकमाथि दफावार छलफलपछि विधेयक सर्वसम्मत पारित गरिएको हो । दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले जवाफ दिनुभएको थियो ।

मन्त्री केसीले सडक विस्तारका क्रममा आइपर्ने केही कठिनाइ समाधान गर्न ऐन संशोधन जरुरी भएकाले यो विधेयक ल्याइएको जानकारी दिनुभयो । 

सदनमा मन्त्री केसीले भदौ २३ र २४ गते भएको आगजनीका क्रममा क्षतिग्रस्त सरकारी कार्यालय तथा आवासका भौतिक संरचनाको मर्मत कार्यका लागि सम्झौता भई काम अघि बढिसकेको उल्लेख गर्नुभयो । 

चालु आर्थिक वर्षमा हालसम्म ८६.५१ किलोमिटर सडक कालोपत्र भएको र १५ वटा बहुवर्षीय सडक आयोजना, ११ वटा सडक पुल तथा ५ वटा झोलुङ्गे पुल निर्माण भएको उहाँको भनाइ छ । 

बैठकको शून्य तथा विशेष समयमा प्रदेशसभा सदस्यहरूले उठाएका सवालहरूको वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जवाफ दिनुभएको थियो ।