खोटाङ, चैत १६ गते । खोटाङका पहाडी पाखाहरूमा अचेल बाली झुलिरहेका छैनन्, बरू बाँदरको बथान उफ्रिरहेका छन्।
पसिना बगाएर उब्जाएको अन्नबाली भित्र्याउने बेला बाँदरले रित्तो बनाइदिएपछि आजित भएका खोटाङका किसानहरू अन्ततः खेतबारी छोडेर सडकमा ओर्लिएका छन्। सोमबार सदरमुकाम दिक्तेलको शान्त माहोललाई किसानहरूको आक्रोशले तताइदियो।
सामान्यतया प्रदर्शनमा झन्डा र प्लेकार्ड देखिन्छन्, तर दिक्तेलको सडकमा अलि भिन्नै दृश्य देखियो। किसानहरू आफ्ना हलो, जुवा, दाँते र कोदालो काँधमा राखेर जुलुसमा सहभागी थिए ।
यो केवल प्रदर्शन मात्र थिएन, राज्यलाई सोधिएको एउटा गम्भीर प्रश्न थियो—‘यदि बाँदरले खेती बाँकी राख्दैन भने यी कृषि औजारको के काम ? रित्तो भकारी र उजाड खेतको पीडा बोकेर हिँडेका ती किसानहरूले आफ्ना उत्पादनको सुरक्षा नभए खेती नै त्याग्ने चेतावनी समेत दिएका छन्।
बस्ती नै रित्तिने डर
खोटाङका विभिन्न गाउँपालिकाहरूमा बाँदरको आतङ्क यतिसम्म बढेको छ कि अब मानिसहरूलाई घरभित्र बस्न पनि त्रास हुन थालेको छ। मकै, आलु र फलफूल त टाढाको कुरा, बाँदरले घरभित्रै छिरेर अन्न लुट्ने र मानिसलाई समेत आक्रमण गर्ने गरेको छ। यही समस्याका कारण उर्वर जमिनहरू बाँझै छाडेर धेरै परिवारहरू पहाडबाट तराईतिर बसाइँ सर्न बाध्य भएका छन्।