• १५ चैत २०८२, आइतबार

इनिसा विक मृत्यु प्रकरण

चार जनालाई आजीवन जन्मकैदको मागसहित अदालतमा अभियोगपत्र दायर

blog

सुर्खेत जिल्ला अदालत अगाडि धर्नामा बसेका इनिसाका आफन्तजन । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, चैत १५ गते । सुर्खेतकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले आइतवार अभियुक्त चारै जनालाई सामूहिक बलात्कार अभियोगमा १० देखि १२ वर्ष कैदसहित पाँच लाख रुपियाँ जरिवाना र कर्तव्य ज्यान मुद्धामा आजीवन जन्मकैद माग दाबी गर्दै ४१ पृष्ठ लामो अभियोगपत्र सुर्खेत जिल्ला सुर्खेतमा दायर गरेको हो । 

अभियुक्तहरु चारै जना नाबालक भएका कारण कुल सजायको दुई तिहाइ कैद दाविसहित अभियोगपत्र दायर गरिएको जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बताउनुभयो । 

प्रहरीले अनुसन्धान सकेर बुधबार मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । जिल्ला न्यायाधिवक्ता महतले अन्य तिन जनाले मृतक इनिसालाई अस्पताल लैजाने पर्याप्त समय भएपनि उनीहरूले लग्ने प्रयास नगरेको र उनीहरूको मनसाय पनि त्यही देखिएकाले चारजना विरुद्ध अभियोग पत्र दायर गरिएको बताउनुभयो। 

अभियुक्तहरुको आइतवारदेखि नै बयान लिन सुरु गरिएपनि सोमबारमात्रै थुनछेक बहस हुने सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिनुभयो। 

यता पीडित परिवार र अधिकारकर्मीहरुले आइतवार दिनभर जिल्ला अदालत अगाडि धर्ना र नारा जुलुस गरेका छन् । अनुसन्धानप्रति अविश्वास जनाउँदै आएका पीडित परिवार र अधिकारकर्मीहरुले निष्पक्ष र पारदर्शी प्रक्रियाबाट घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । 

गत फागुन २३ मा मृत्यु भएकी इनिसा विकको शव तीन साता बित्दासमेत उठ्न सकेको छैन । सुर्खेतस्थित प्रदेश अस्पतालको शवगृहमा इनिसाको शव रहेको छ । मृत्यु प्रकरणमा परिवारले सुरुदेखि नै शंका व्यक्त गर्दै आएको छ । 

पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै परिवारले पुनः अनुसन्धानको माग गरिरहेका छन् । छोरीको मृत्युपछि एक महिना छुट्टी लिएर नेपाल फर्किएका इनिसाको बुवा इन्द्र विकको कम्पनीबाट पाएको बिदा सकिन थालेको छ । प्रहरीले अहिलेसम्म घटनाका बारेमा खुलेर जानकारी नगराएको आरोप लगाउँदै इनिसाका बुवा इन्द्रले छोरीले न्याय नपाउने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो ।