• १५ चैत २०८२, आइतबार

आगो नियन्त्रण सम्बन्धी तालिम

blog

तालिममा आगो निभाउन सिक्दै एक गृहिणी महिला । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, चैत १५ गते । गर्मीयाम सुरु भएसँगै बढ्दो आगलागीको जोखिमलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले गृहिणी महिलालाई लक्षित गरी घरायसी आगो नियन्त्रण सम्बन्धी पुनर्ताजगी तालिम सञ्चालन गरेको छ ।

सुपर परियोजनाअन्तर्गत वडा ३ र ७ का ४० जना सामुदायिक आपतकालीन प्रतिकार्य समूहका महिला सदस्यहरूको सहभागितामा सोे तालिम आयोजना गरिएको हो । 

दैनिकजसो भइरहेका आगलागीका घटनालाई न्यूनीकरण गर्ने तथा सम्भावित क्षति कम गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र शाखाका प्रमुख झयनबहादुर खड्काका अनुसार नेपालगन्जको वडा ३ र ७ निकै पुरानो बस्ती भएको र सो क्षेत्र आगलागिको उच्च जोखिममा रहँदै आएकोले उक्त क्षेत्रका गृहिणी महिलाहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको हो । 

उहाँले सो तालिममा आगो निभाउने प्रभावकारी उपाय, घरमै उपलब्ध सामग्री प्रयोग गरेर आगो नियन्त्रण गर्ने तरिका तथा अपनाउनुपर्ने र नअपनाउनुपर्ने सावधानीबारे व्यवहारिक ज्ञान प्रदान गरिएको बताउनुभयो । 

बाँकेका विपद सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सुपर परियोजनाअन्तर्गत तयार गरिएका ४०० स्वयंसेवकमध्ये ४० जनालाई विशेष रूपमा घरायसी आगो नियन्त्रण सम्बन्धी सीप प्रदान गरिएको जानकारी दिनुभयो । 

उहाँले आगलागी हुँदा दमकल पुग्न नसक्ने ठाउँ र पुग्न ढिलो हुने अवस्थामा यस्ता तालिमप्राप्त स्वयंसेवकहरूले समुदायमै तत्काल प्रतिक्रिया जनाई क्षति न्यूनीकरण गर्न सक्ने बताउनुभयो ।

त्यस्तै, वडा ६ का वडा अध्यक्ष तथा सुपर परियोजना संयोजक समिर प्रताप सिंहले तालिमले समुदायस्तरमै आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार घरको भान्साबाट हुने आगलागीका घटनालाई कम गर्न तथा जोखिम न्यूनीकरणमा यस्तो तालिम प्रभावकारी हुने विश्वास गरिएको छ ।

तालिममा सहभागि गृहिणी महिलाहरुले तालिमबाट आगलागि रोक्ने तथा आगलागि बढ्न नदिने र नियन्त्रण गर्ने धेरै तरिकाहरु सिकेको बताउनुभएको छ ।