काठमाडौँ, चैत १५ गते । लगनटोल स्थित आमा रुखको तीन परिक्रमा सँगै सेतो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भएको छ । चैते दसैँको दिन बिहीबारदेखि सुरु भएको जात्रा जमलबाट असन, असनबाट हनुमान ढोका दरबार क्षेत्र तथा सो स्थानबाट लगन टोलसम्म तान्ने गरिन्छ । लगनटोल पुगेको भोलि पल्ट आमा रुखको परिक्रमा गराइन्छ ।
मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याएर भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइए पश्चात सो जात्रा रथयात्राको रुपमा अगाडि बढेको हो । रथ यात्रा सम्पन्न भएको भोलिपल्ट आर्यालोकितेश्वरको मूर्तिलाई निकाली खटमा राखी लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल ल्याइ पुन मन्दिरमा प्रतिस्थापन गरिन्छ ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा सुरु हुन्छ । राजा शिवसिंह मल्लले ने.स. ७०८ देखि करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गर्ने परम्परा चलिआएको छ । सेतो मच्छिन्द्रनाथको जात्रा अनेकतामा एकताको प्रतीक हो । सेतो मच्छिन्द्रनाथलाई हिन्दु र बौद्ध धर्मावलम्बीले समान आस्थाका साथ पूजा गर्ने परम्परा परापूर्वकालदेखि नै चलिआएको मानिन्छ ।
काठमाडौँ उपत्यकामा चार लोकेश्वर छन् । सद्भावका देवताका रूपमा सेतो मच्छिन्द्रनाथ, रोग र सम्बन्धविच्छेदको व्यवस्थापन गर्ने चोभारका आनन्दादि लोकेश्वर, वर्षा र सहकालका देवताका रूपमा बुङ्गमतीका रातो मच्छिन्द्रनाथ, सृष्टि र संहारको व्यवस्थापन गर्ने देवताका रूपमा नालाका सृष्टिकान्ता लोकेश्वरलाई पुज्ने चलन छ ।



















