काठमाडौँ, चैत १९ गते । साँखुमा बज्रयोगिनी जात्रा बिहीबारबाट सुरु भएको छ । जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखुमा नगर प्रवेश गराइएको छ । गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हीरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई जात्रा गर्ने परम्परा छ ।
बज्रयोगिनी जात्रा काठमाडौँ उपत्यकाको साँखु (शङ्खरापुर) मा मनाइने निकै प्राचीन र प्रसिद्ध जात्रा हो। यो जात्रा बज्रयोगिनी मन्दिरसँग सम्बन्धित छ, जहाँ बौद्ध र हिन्दु दुवै समुदायका श्रद्धालु सहभागी हुन्छन् ।
चार दिनपछि मुँ जात्राका रूपमा साँखुवासीले मनाउने गर्छन्, जुनदिन साँखुवासीले आफ्ना आफन्तलाई नखत्या (भोज) बोलाउने चलन छ । जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने चलन छ । मूलत चैतेदसैँको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ । यो जात्रा चैत्र शुक्ल पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म आठ दिन मनाइन्छ।





















