• ११ वैशाख २०८३, शुक्रबार

रामग्राम नगरपालिकामा मापदण्ड विपरीतका संरचना हटाउन सुरु

blog

रामग्राम नगरपालिकाले परासी बजार क्षेत्रमा सडक मापदण्ड विपरीतका संरचना हटाउँदै । तस्बिरः विकास अधिकारी

विकास अधिकारी

पश्चिम नवलपरासी, वैशाख ११ गते ।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले सडक मापदण्ड विपरीतका संरचना हटाउन सुरु गरेको छ ।

मापदण्ड विपरीतका संरचना हटाउन नगरपालिकाले आज परासी बजारमा डोजर चलाएको हो । नगरपालिकाले सडक तथा फुटपाथमा राखिएको निर्माण सामाग्री हटाउन र सडक मापदण्ड भित्रका संरचना भत्काउन सूचना जारी गरेको थियो ।

तर, धेरै सडक मिचेर बनाएका संरचना नहटाएकाले आज डोजर लगाएको नगरपालिकाले जनाएको छ ।केही घरका घाम छेक्न बनाइएका टिनका टहरा र पृथ्वी चन्द्र अस्पतालले भाडामा लगाएका सटर क्षेत्रमा नगरपालिकाले डोजर लगाएको हो ।

ग्रामीण भेग सम्मै यो अभियान जारी रहने रामग्राम नगरपालिकाले जनाएको छ । तर केही स्थानीयबासीले भने पर्याप्त सूचना र आवश्यक तयारी बिना नगरपालिकाले डोजर लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

नगर प्रमुख धनपत यादवले कसैलाई पनि दुख दिने नियत नरहेको बताउँदै सबैलाई पटक पटक सूचित गरेर मात्र डोजर चलाइएको बताउनुभयो ।

अस्पताल विकास समितिलाई समेत पत्र लेखेरै अस्पतालले भाडामा लगाएका सटर क्षेत्रले सडक मापदण्ड मिचेको बारे सचेत गराएपनि नहटाएपछि आज डोजर लगाउनुपरेको नगर प्रमुख यादवले जानकारी दिनुभयो ।

बाँकी स्थानमा भोलि पनि यो क्रम जारी रहने नगरपालिकाको भनाइ छ ।