काठमाडौँ, वैशाख ११ गते । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका नदी किनारमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई मानवीयताको ख्याल गर्दै सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताउनुभएको छ । विगतका वर्षमा बर्खायाममा आउने बाढीका कारण नदी किनारका बासिन्दाले भोग्नुपरेको सास्ती र जीवनको जोखिमलाई मध्यनजर गर्दै सरकारले यस्तो कदम चाल्न लागेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भन्नुभयो, “हरेक वर्ष बाढीका कारण ज्यान जोगाउनुपर्ने नियतिलाई अब सधैँका लागि अन्त्य गर्नुपर्छ । नागरिकको सुरक्षित बसोबास उहाँहरूको अधिकार हो, त्यसैले जोखिमयुक्त ठाउँबाट हटाएर सुरक्षित ठाउँमा व्यवस्थापन गर्नु सरकारको दायित्व हो ।” उहाँले नदी किनारका बस्तीका कारण उपत्यकाको ढल निकास प्रणालीमा अवरोध पुगेको र नदी दुर्गन्धित भएको उल्लेख गर्दै स्थानान्तरणपछि काठमाडौँको वातावरणमा समेत सुधार आउने विश्वास व्यक्त गर्नुभएको छ ।
थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीलाई बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिने उहाँको भनाइ छ । आफ्नो निर्वाचन क्षेत्रको वाचा, पार्टीको प्रतिबद्धता र सरकारको ‘सय काम’ को सूचीमा समेत सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गाको संरक्षण प्राथमिकतामा रहेको उहाँले स्मरण गराउनुभएकाे छ ।
प्रधानमन्त्री शाहले सुकुम्बासी र अतिक्रमणकारीलाई स्पष्ट रूपमा छुट्याइने उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “हामी अतिक्रमणकारी र वास्तविक सुकुम्बासीको पहिचान गर्नेछौँ । देशभरका वास्तविक सुकुम्बासीलाई प्रक्रिया पुरा गरेर यथाशक्य चाँडो जग्गा वितरण गरिनेछ । वर्षौँदेखि बल्झिरहेको यो समस्याको स्थायी समाधान गर्न सरकार दृढ छ ।”
सुरक्षित व्यवस्थापनको काम आन्तरिक तयारीमा रहेको उल्लेख गर्दै उहाँले वास्तविक पीडितहरूलाई सरकारको प्रक्रियामा ढुक्क हुन आग्रह गर्नुभएको छ ।