लेखनाथ समाचारदाता
लेखनाथ, वैशाख ११ गते । नक्कली पेस्तोल देखाएर पर्यटक र स्थानीय व्यवसायीलाई धम्क्याएको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति कास्की प्रहरीले पोखरा–८, सिमलचौर बस्ने तनहुँको व्यास–२ स्थायी घर भएका ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थलाई पक्राउ गरेको हो ।
कायस्थद्वयका घरकोठा खानतलासी एक नक्कली पेस्तोलसहितका सामान फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो ।
“हतियार देखाएर त्रसित बनाएको सूचना पाएपछि दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी छ,” उहाँले भन्नुभयो ।
कास्की प्रहरीले एक सय दुई ग्राम ब्राउन सुगर र नगद नौ लाखसहित महिलालाई नियन्त्रणमा लिएको छ ।पोखरा–११, फूलबारीबाट लमजुङको मध्य नेपाल नगरपालिका वडा नं.६ स्थायी वतन भई हाल जिल्ला फूलबारी बस्ने बर्ष २७ की मन्दिरा मगरलाई पक्राउ गरिएको हो ।
उहाँको घरकोठा खानतलासी गर्दा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) र नगद फेला परेको थियो । कास्की प्रहरीले जिल्लामा चलाएको ‘स्विप अप्रेसन’मा थप ६१ जना पक्राउ परेका छन् ।
लागुऔषध कारोबार तथा सेवन गर्ने, अशान्ति फैलाउने, टोलमा गुण्डागर्दी गर्ने र शङ्कास्पद गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन अप्रेसन चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताउनुभयो ।
यो अभियानमा अहिलेसम्म एक सय ८२ जनालाई नियन्त्रणमा लिइएको छ ।