• ११ वैशाख २०८३, शुक्रबार

कन्सुलर सेवालाई सरल बनाउन नयाँ कार्यविधिको मस्यौदा तयार हुँदै

आर्थिक कूटनीति सरकारको उच्च प्राथमिकतामा : प्रवक्ता पौडेल क्षेत्री

blog

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री। तस्बिरः केशब गुरुङ

काठमाडौँ, वैशाख ११ गते । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आर्थिक कूटनीति सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ । मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले वैदेशिक व्यापार, लगानी र पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धिका लागि सरकार निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो ।

प्रवक्ता पौडेल क्षेत्रीले शासकीय सुधारको कार्यसूचीअनुसार कन्सुलर सेवा विभागको सेवालाई थप प्रभावकारी बनाउन ‘बिजनेस प्रोसेस रि–इन्जिनियरिङ’ (बीपीआर) को काम अघि बढेको बताउनुभयो । गत चैत १३ गते स्वीकृत कार्यसूचीअनुसार विभागका निर्देशकको संयोजकत्वमा गठित कार्यदलले हाल सेवा सुधारका लागि सघन रूपमा कार्य गरिरहेको उहाँको भनाइ थियो ।

पत्रकार सम्मेलनमा प्रवक्ता पौडेल क्षेत्रीले भन्नुभयो, “व्यापार प्रवद्र्धन, वैदेशिक लगानी, पर्यटन र आरोग्य पर्यटनजस्ता माध्यमबाट नेपालको आर्थिक समृद्धिका लागि आवश्यक कार्यहरू भइरहेका छन् । कन्सुलर सेवालाई थप सरल, पारदर्शी तथा समयसापेक्ष बनाउन ‘कन्सुलर सेवा कार्यविधि, २०८१’ को मस्यौदालाई अन्तिम रूप दिने गृहकार्यसमेत भइरहेको छ ।”

यस प्रक्रियाबाट सेवाग्राहीले अझै प्रभावकारी र सुलभ सेवा पाउने अपेक्षा मन्त्रालयले लिएको छ । सरकारले आर्थिक कूटनीतिलाई वैदेशिक सम्बन्धको मुख्य आधार बनाएर अघि बढ्ने नीति लिएको प्रवक्ता पौडेल क्षेत्रीले स्पष्ट पार्नुभयो ।