यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), बैशाख ११ गते । मधुवन नगरपालिका वडा ४ माचढ चोकको सडक किनारमा धुवाँमा मकै पोलिरहनु भएकी ४३ वर्षीया शुवरानी थारू धुँवामै जीवन खोजिरहनुभएको छ । आफ्नै बारीमा उब्जाएको हरियो मकै पोलेर बेच्दै आउनुभएकी शुवरानीलाई मकै बिक्रीले घरको जीविका चलाउन सहज भएको छ ।
उहाँ भन्नुहुन्छ, “काम सानो ठुलो हुँदैन, गर्ने जाँगर हुनुपर्छ ।” गत वर्ष उहाँ पूर्व नगर उपप्रमुखको जिम्मेवारीमा रहनुभएको थियो । उपमेयर भएर मकै पोल्नुहुन्छ भन्ने प्रश्न आउने गरे पनि आफूले त्यसलाई सहजरुपमा लिएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “आफ्नो काम गर्न के को लाज ? म कतै ठग्न चोर्न गएको छैन ।”
नगरपालिकाको उपप्रमुख हुनुभन्दा अगाडि पनि कृषि पेशा गरेको र अहिले पनि त्यही पेशा गरिरहेको उहाँ बताउनुहुन्छ । पहिले पनि मैले जग्गा भाडामा लिएर खेती किसानी गर्थे, मकै लगाउँथे, पोलेर बेच्थेँ अहिले पनि त्यही काम गर्छु । कार्यकाल सकिएपछि मकै पोलेर बेच्न थालेको उहाँले बताउनुभयो ।
आफ्नो बारीमा फलेको मकै पोलेर बेच्दा राम्रो आम्दानी हुनेगरेको उहाँको भनाइ छ । “मकै दाना बनाएर बेच्दा बढीमा प्रतिक्विन्टल चार हजार आउँछ ।” उहाँले भन्नुभयो, “घोगा बेच्दा प्रतिघोगा १५ रुपियाँ र पोलेर बेच्दा प्रतिघोगा २५ रुपियाँमा बेच्ने गरेकी छु ।”
गत वर्ष मकै पोलेर बेचेर ७५ हजार रुपियाँ आम्दानी गरेको बताउँदै यस वर्ष पोलेर बेच्नका लागि मकै लगाएकाले एकलाख रुपियाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको उहाँ बताउनुभयो । कृषि र पशुपालन शुवरानीको परिवारको मुख्य स्रोत हो ।
आफ्नो १० कठ्ठा जग्गा मात्र रहेको र थप २ विघा जग्गा भाडामा लिएर कृषि पेशा गरिरहेको शुवरानीका श्रीमान् फुलराम थारूले बताउनुभयो । उहाँले एक विघा ५ कठ्ठामा मकै, १० कठ्ठामा गहुँ र पाँच कठ्ठामा तरकारी खेती गरेको बताउनुभयो ।
पहिले यो समयमा तरकारी पनि बेचिन्थ्यो, यस वर्ष निर्वाचन प्रचारमा व्यस्त भएको हुनाले तरकारी उत्पादनमा ढिलाइ भएको उहाँले बताउनुभयो । कृषि र पशुपालनबाट नै आठ जनाको परिवार पालेको उहाँले बताउनुभयो । साना ठुला गरेर आठ वटा भैंसी र एक गाई उहाँसँग छन् । दैनिक २० लिटरसम्म दुध बेच्ने गरेको उहाँले बताउनुभयो ।
शुवरानी नेकपा (एमाले) को प्रदेश सभा सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । यसअघि तत्कालीन नेकपा माओवादीको तर्फबाट मधुवन नगरपालिकाको उपमेयर हुनुहुन्थ्यो । उपमेयर हुँदा पाएको तलब भत्ता आफ्नै स्वास्थ्य उपचारमै आधा सकिएको बताउँदै उहाँ भन्नुहुन्छ– “द्वन्द्वकालमा तत्कालीन सुरक्षाकर्मीले दिएको यातनाले रोगी भएकी छु । लखनउसम्म गएर उपचार गरेँ । अझै पनि लामो बाटो हिँड्न सक्दिन, भारी बोक्न सक्दिन, शरीर दुख्छ ।”
“उपमेयर भएकै समयमा तिरिहालिन्छ नि भनेर ऋण गरेर गाउँमै एक कठ्ठा १७ धुर जग्गा किनेर सानो घर बनाएको थिएँ, अझै ऋण तिर्दैछु ।” उहाँले भन्नुभयो –“इमान्दारीताका साथ जनताले दिएको जिम्मेवारी पूरा गरेँ, कुनै बेइमानी गरिनँ ।”