राजकुमार भट्टराई
खोटाङ, वैशाख ११ गते । खोटाङस्थित रणभीम गणबाट ९४ जना सैन्य दीक्षित भएका छन् । नौ महिना लामो ‘सैन्य आधारभूत तालिम’ सफलतापूर्वक पुरा गरेसँगै उनीहरू शुक्रबार दीक्षित भएका हुन् ।
रणभीम गणमा २०८२ असार २ गतेदेखि सुरु भएको उक्त तालिम २०८३ वैशाख ११ गते समापन गरिएको गणका गणपति एवं प्रमुख सेनानी केदारप्रसाद लामिछानेले जानकारी दिनुभयो । समापन समारोहमा नम्बर १८ वाहिनीपति, सहायक रथी विमलकुमार बस्नेतका सामु तालिममा सहभागी ९४ जना सैनिकले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए ।
तालिम समापनसँगै सहभागी ९४ जना नै सिपाही दर्जामा नियुक्ति भएको गणपति लामिछानेले बताउनुभयो । तालिम अवधिभर सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै सैन्य ढकेन्द्रराज बुर्जा मगर ‘सर्वोत्कृष्ट’ घोषित हुनुभएको छ । सर्वोत्कृष्ट हुनुभएका मगरलाई सहायक रथी बस्नेतले पुरस्कार स्वरूप खुकुरी प्रदान गर्नुभयो ।
त्यसैगरी, दौडतर्फ सैन्य लेखराज पुन मगर, फायरिङतर्फ सैन्य दुर्गा बुढा, बाधापारतर्फ सैन्य बोमबहादुर राना र ड्रिलतर्फ सैन्य राजेन्द्र राक्से मगर उत्कृष्ट घोषित हुँदै पुरस्कृत भएका छन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै सहायक रथी बस्नेतले मातृभूमि र जनताप्रति समर्पित हुने दृढ सङ्कल्पसहित कठिन तालिम पुरा गरी सिपाही दर्जामा नियुक्ति हुन सफल भएकोमा नवदीक्षित सैनिकहरूलाई बधाई दिनुभयो । समारोह समापनपछि दीक्षित सैनिकहरूले आफ्ना परिवारसँग खुसी साटासाट गरेका थिए । परिवारका सदस्यहरूले उनीहरूलाई दुबोको माला लगाइदिएर बधाई तथा शुभकामना दिएका थिए ।