• १६ चैत २०८२, सोमबार

विद्यार्थी जोशीले बनाए विद्युतीय मोटरसाइकल

blog

सुदूरपश्चिम, चैत १५ गते । निजी क्षेत्रबाट सञ्चालित धनगढीको सिसिएस विद्यालयका विद्यार्थी आसिस जोशीले रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल बनाउनुभएको छ । मोटरसाइकल निर्माणमा सफलता पाउनमा सुदूरपश्चिम एकेडेमीका पूर्वविद्यार्थी सागर खनालका साथै घरपरिवारबाट प्रेरणा मिलेको उहाँले बताउनुभयो ।  

कवाडीको समानबाट अढाई हप्ता लगाएर घरमै मोटरसाइकल बनाएको र लागत खर्च रु ८० हजार रहेको लागेको जोशीले जानकारी दिनुभयो । “यो मोटरसाइकल रिमोटका अलावा सामान्य चाबीले स्टार्ट गर्नसकिन्छ”, जोशीले भन्नुभयो, “अत्तरियाको जेसिज एभरेष्ट स्कुलमा एक वर्षअघि भएको विज्ञान प्रदर्शनीको अध्ययन अवलोकनका क्रममा पनि आफूलाई सिक्ने प्रेरणा जागेको थियो ।” 

मोटरसाइकल निर्माणमा फलामे कवाडी समान, ब्याट्री, कन्ट्रोलर, मोटरलगायतको प्रयोग गरिएको छ । प्रयोग भएको ब्याट्री, कन्ट्रोलर र मोटर काठमाडौँबाट मगाइएको थियो । धनगढी उपमहानगरपालिका—१३ राजपुर निवासी जोशीले भन्नुभयो, “अध्ययनसँगसँगै आफ्नो क्षमतालाई बाहिर ल्याउने प्रयास गर्दा सफलता मिल्यो, यो मोटरसाइकल एकपटक रिचार्ज गरेमा प्रतिघण्टा ४५ किलोमिटरको गतिमा ८० किलोमिटरको दूरीसम्म चलाउन सकिन्छ ।” 

छोराले मोटरसाइकल बनाएर प्रतिभा देखाएको भन्दै आफू हर्षित भएको उहाँका बुबा दुर्गा जोशीले बताउनुभयो । कक्षा १२ मा अध्ययनरत जोशीलाई विद्यालयले छात्रवृत्तिसमेत प्रदान गरेको छ । रासस