सन्तोष दहित
घोराही, चैत १६ गते । घोराही उपमहानगरपालिकाको सहकार्यमा आर्क नेपालले घोराही उपमहानगरपालिका वडा नम्बर ६ र ७ का किसानलाई जलवायु मैत्री कृषि परियोजना अन्तर्गत दुई दिने मल्चिङ प्रविधि तालिम प्रदान गरेको छ ।
जलवायु परिवर्तनका असरलाई मध्यनजर गर्दै किसानलाई आधुनिक तथा वातावरणमैत्री खेती प्रविधिसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
तालिममा किसानलाई मल्चिङ प्रविधि मार्फत तरकारी खेती गर्ने व्यावहारिक तथा प्राविधिक ज्ञान दिइएको थियो । परियोजना सहजकर्ता सुभेक्षा चौधरीका अनुसार तालिममा मर्चिङ प्रयोग गरेर तरकारी रोप्ने तरिका, गोडमेल गर्ने विधि, बिउ राख्ने तरिका, विषादी तथा औषधीको सुरक्षित र उपयुक्त प्रयोगलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।
उहाँले मल्चिङ प्रविधिले उत्पादन वृद्धि गर्नुका साथै माटोको चिस्यान कायम राख्न, झारपात नियन्त्रण गर्न र श्रम तथा लागत घटाउन समेत सहयोग पुग्ने बताउनुभयो ।
त्यसैगरी, तालिमका अर्का सहजकर्ता विभिषा चौधरीले जलवायु सङ्कट र त्यसले कृषि क्षेत्रमा पारिरहेको प्रभावबारे सैद्धान्तिक छलफलसमेत गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बदलिँदो मौसम, अनियमित वर्षा, तापक्रम वृद्धि र त्यसले खेती प्रणालीमा पारेको असरबारे किसानलाई सचेत बनाइएको थियो।
परियोजना अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा ३० जना र वडा नम्बर ७ मा ३० जना गरी कुल ६० जना किसानलाई तालिम दिइएको हो। तालिमको सहजीकरण जेटिए रमेश चौधरीले गर्नुभएको थियो।
स्थानीय किसान एवं घोराही-६, पक्वैकी कुमारी चौधरीले मल्चिङ प्रविधि तालिमबाट तरकारी खेतीलाई थप व्यवस्थित, उत्पादनमुखी र जलवायु अनुकूल बनाउन उपयोगी ज्ञान प्राप्त भएको बताउनुभयो ।
यस्ता तालिमले किसानलाई आधुनिक कृषि प्रविधितर्फ आकर्षित गर्नुका साथै दिगो कृषि प्रणाली विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको घोराही ७ का वडाध्यक्ष खोपिराम चौधरीले बताउनुभयो