फडिन्द्र अधिकारी
लेखनाथ, चैत १६ गते । पर्यटन राजधानी पोखराकै बासिन्दा खडकराज पौडेल (गनेस) सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएपछि पोखरेली उत्साहित छन् । पोखरा महानगरपालिका वडा १४, मझेरीपाटनका बासिन्दा पौडेल साहित्यकारसमेत हुनुहुन्छ ।
साहित्यकार, लेखक र अध्येताको छवि बनाउनुभएका पौडेल प्रधानमन्त्री बालेन्द्र शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरी सभासद् हुँदै मन्त्री बन्नुभएको हो ।
पोखराको सभ्यता, आवश्यकता र योजनाबारे जानकार व्यक्तित्व पर्यटन मन्त्री भएकाले पोखरेलीले अहिले ठूलो अपेक्षा गरेका हुन् । पर्यटन राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण, देश, विदेशमा प्रचार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका साथै यहाँका तालहरु अतिक्रमण बनाउँदै सौन्दर्यकरण हुनुपर्नेमा पोखरेलीको जोड छ ।
उसो त मन्त्री पौडेलको वाचापत्रमा लेखिएका केही बुँदामा पर्यटन समेटिएका छन् । उहाँले प्रत्येक दश हजार मानिसका लागि एक खेलमैदान बनाउनेदेखि पोखरा–त्रिवेणी र पोखरा–कोरला सडक विस्तारमा ध्यान दिने वाचा गर्नुभएको छ । सडक विस्तारका कारण विश्व चर्चित पदमार्गहरु नष्ट हुँदै गएकोमा संरक्षण गर्ने एजेन्डासमेत उहाँको छ ।
पदमार्ग संरक्षण ऐन बनाउने, पर्यटनलाई उद्योगसरह सुविधा दिने नीति बनाउने उहाँको वाचापत्रमा उल्लेख छ । कास्कीका प्रमुख तल र पर्यटक गन्तव्यहरुलाई जोड्ने इको टुरिज्म सर्किट बनाउने मन्त्री पौडेलको वाचापत्रमा लेखिएको छ ।
आफ्नो वाचापत्र कार्यान्वयन गर्दै देशकै पर्यटन क्षेत्रको विकास गर्ने ठाउँमा पौडेल पुग्नुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई पटक विस्थापित बन्नुभएका पौडेल आफैं अहिले विमानस्थल सञ्चालन गर्ने दायित्वमा पुग्नुभएको छ । करिब २२ अर्ब ऋणमा बनेको विमानस्थलबाट अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रास्वपाको निर्णयले पोखरालाई न्याय भएको बताउनुभयो ।
“अहिले साच्चिकै पोखरालाई न्याय भएको छ, विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान, फेवातालको सौन्दर्यकरणसहित पोखरा प्रवर्धनमा उहाँको साथ मिल्ने अपेक्षा गरेका छौँ,” प्रमुख आचार्यले भन्नुभयो । महानगर प्रमुखमा आचार्य निर्वाचित हुँदा मन्त्री पौडेल लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो । प्रकृति चित्रण र विचरणमा रमाउने मन्त्री पौडेलबाट फेवाताल सौन्दर्यकरणमा पनि साथ मिल्ने पोखरेलीको अपेक्षा छ।
लौरो चुनाव चिन्हो नाताले काठमाडौं महानगर प्रमुख हुँदा प्रधानमन्त्री शाहसँग पौडेलको सम्बन्ध स्थापित भएको थियो । त्यही सम्बन्धले एकै राजनीति दल हुँदै उहाँहरु अहिले सरकारमा हुनुहुन्छ । त्यसो त प्रधानमन्त्री शाह आफैंले आइतबार पोखराका नगर प्रमुख आचार्यलाई टेलिफोन गरी फेवाताल अतिक्रमण हटाउन भएका कामबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री आफैंले अग्रसरता लिएकाले अतिक्रमण हटाउने, मुआब्जा प्रदान गर्ने र फेवातालको सौन्दर्यकरण चाँडै हुने पोखरेलीको आशा छ । पर्यटन राजधानी घोषणा भएको पोखरा महानगरमा त्यसअनुरुपका पूर्वाधार बनेका छैनन् । तालनगरीको रुपमा परिचित पोखराका आठ वटै ताल प्राकृतिक र मानवीय दुवै थरी अतिक्रमणको चपेटामा छन् ।
‘पैताला’ उपन्यासका कृतिकार पौडेलबाट देशको साहित्य र संस्कृतिमा उल्लेख्य परिवर्तन हुने अपेक्षा गरिएको छ । साहित्यकार भीम रानाभाट अब प्रज्ञा प्रतिष्ठानहरुमा देखिएका विकृति हट्ने, लेखक, कलाकारलाई राज्यले सघाउने वातावरण बन्ने अपेक्षा गर्नुहुन्छ । “अहिलेको समय र आवश्यकता बुझ्ने साहित्यकार नै मन्त्री भएका बेला यो क्षेत्रमा परिवर्तन हुनैपर्छ,” उहाँले भन्नुभयो । मन्त्री पौडेल पठन संस्कृतिको जग बसाउने ¥यान्डम रिडर्स सोसाइटीका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की पर्यटन मन्त्रीबाट पोखरेलीले विशेष अपेक्षा गरेको बताउनुहुन्छ । “उहाँ विमानस्थलको विस्थापित पनि हो, पोखरा बुझेको मान्छे पनि हो,” अध्यक्ष कार्कीले भन्नुभयो, “उहाँको कार्यकालमा केही न केही पोखराले सम्झन लायक उपलब्धि हासिल गर्छ भन्ने लागेको छ ।”
पर्यटन व्यवसायीहरु नयाँ सरकार गठनसँगै अवस्था फेरिने अपेक्षामा छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११, माछापुच्छ«े बेस क्याम्पका पर्यटन व्यवसायी दिलीप गुरुङ संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणका कठिनाई सुल्झाउन सुझाव दिनुहुन्छ । होटल सङ्घ पोखराका पूर्वअध्यक्ष गोविन्दराज पहारी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान, विदेशमा पोखरा प्रवर्धनसँगै पर्यटक बसाइ लम्ब्याउन सरकारले काम गर्ने अपेक्षा गर्नुहुन्छ ।
“अहिलेको सरकारसँग जनताका धेरै अपेक्षा छन्,” पाहारी भन्नुहुन्छ, “उहाँहरुलाई अथाह अवसर छन्, सँगसँगै चुनौती पनि छन् ।” पर्यटन व्यवसायी जितु गुरुङ पर्यटनलाई उद्योगको मान्यता दिँदै पर्यटन आउने र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गर्नुहुन्छ ।
गुरुङले सञ्चालन गरेको बरपीपल रिसोर्ट भदौ २४ मा आगजनी र तोडफोड भएको थियो। आन्दोलनमा क्षति व्यहोरेका व्यापारिक प्रतिष्ठानलाई सरकारले केही न केही सहुलियत दिनुपर्ने उहाँको माग छ ।
पोखरालाई प्रकृति, संस्कृति र साहासिक खेलहरुको सहर मानिन्छ । साहासिक गतिविधिमा सरिक हुन पनि ठूलो सङ्ख्यामा पर्यटक पोखरा आउने गरेका छन् । गो बन्जी पोखराकी महाप्रबन्धन मीना बराल लामा पोखरा बुझेको बौद्धिक व्यक्तित्व पौडेल प्रधानमन्त्री हुँदा पोखराको पर्यटन क्षेत्रमा योजनाबद्ध काम हुने अपेक्षा गर्नुहुन्छ ।
नयाँ पर्यटन मन्त्रीबाट यहाँको निजी क्षेत्रसमेत उत्साहित छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी ठूलो ऋण लिएर बनेको अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारको छानबिन चाँडै सक्छ, नियमित विदेश उडान गर्न, फेकरेस्क्यु जस्ता विकृति हटाउन र नेपाल पर्यटन बोर्डलाई पुनर्संरचना गर्न आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पर्यटन व्यवसायलाई दिगो बनाउन फेक रेस्क्यु, सेवामा हुने ठगीलाई रोक्न आचारसंहिता बनाएर निर्मतापूर्वक लागू गर्नुपर्छ ।”