• १६ चैत २०८२, सोमबार

कालीकोटमा घरमै मृत भेटिइन महिला

blog

कालीकोट समाचारदाता

कालीकोट, चैत १६ गते । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा ३ कुमालगाउँमा एक महिलाको घरमै रहस्यमय मृत्यु भएको छ । 

२७ वर्षीया मनपुरा अधिकारी बुढाको घरमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी हिमबहादुर खत्रीले महिला घरमा मृत अवस्थामा रहेको स्थानीयको जानकारी पछि प्रहरी घटनास्थल पुग्दा शव भेटिएको बताउनुभयो । 

डिएसपी खत्रीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको छ । उनको मृत्युमा संका लागेपछि प्रहरीले सबै पाटा केलाइरहेको बताउनुभयो । प्रहरीले श्रीमान कासिराम बुढालाई नियन्त्रणमा लिएको छ । आइतबार राति श्रीमानको कुटपिटबाट मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । 

सोही कारण उनलाई नियन्त्रणमा लिएको हो प्रहरी प्रमुख खत्रीले भन्नुभयो । तर श्रीमानले आफूले अपराध नगरेको प्रारम्भिक सोधपुछमा जानकारी दिएका छन् । 

सुरुमा स्वीकार गर्ने कुरा भएन, हामीले सबै पक्षलाई केलाइरहेका छौं । मृत्युको कारण बिस्तारै खुल्ने आसा प्रहरीले गरेको छ । 

मृतकका दुई छोरा र एक छोरी छन्। हाल घटनास्थलमा मुचुल्का उठाउने र प्रमाण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । कुमालगाउँमा यसअघि पनि यसरी महिला वा पुरुषको रहस्यमय मृत्यु हुने गरेको छिमेकी गाउँका नागरिकको भनाइ छ । 

जति रहस्यमय मृत्यु भएपनि कुनै घटना बाहिर आएको जानकारी छैन एक स्थानीयले भनेका छन् ।