• १६ चैत २०८२, सोमबार

मन्त्रीपरिषद्मा प्राज्ञिक व्यक्तित्वको वर्चस्व

blog

वर्तमान मन्त्रीपरिषद्का सदस्यले आआफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका कारण आमनागरिकले सार्वजनिक प्रशासन सुधार तथा दैनिक सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरेका छन् ।

काठमाडौँ, चैत १६ गते । प्रतिनिधि सभा सदस्यको झन्डै दुई तिहाइ मतका साथ गठन भएको वर्तमान मन्त्रीपरिषद्का सदस्य निर्वाचनमा लोकप्रिय मतबाट निर्वाचित मात्रै भएका छैनन्, प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा समेत विशिष्ट स्थान हासिल गरेकाहरू छन् । 

हाल विभिन्न मन्त्रालयको जिम्मेवारीमा रहेकामध्ये अधिकांश मन्त्रीले आआफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् । जसका कारण आमनागरिकले सार्वजनिक प्रशासन सुधार तथा दैनिक सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरेका छन् । 

प्रधानमन्त्री बालेन्द्र शाह पेसाले इन्जिनियर हुनुहुन्छ । काठमाडौँको हिमालयन ह्वाइटहाउट इन्टरनेसनल कलेजबाट सिभिल इन्जिनियरिङ गर्नुभएका उहाँले भारतको बैङ्गलुरुको विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ । राजनीतिमा प्रवेश गर्नुअगाडि उहाँले कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिसमेत सञ्चालन गर्नुभएको थियो । साथै उहाँले कन्सल्ट्यान्टका रूपमा सोल्टी सिटी प्रोजेक्ट, पद्म ग्रुफ अफ कम्पनीजमा सहायक प्रबन्धकका रूपमा काम गर्नुभएको थियो । 

मन्त्रीपरिषद्मा दोस्रो वरीयतामा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त व्यक्तित्व हुनुहुन्छ । उहाँले अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउनुभएको छ । 

वाग्लेले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । वाग्लेसँग राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव छ । उहाँले सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस), विश्व बैङ्क र काठमाडौँ विश्वविद्यालयमा पनि आबद्ध भएर काम गर्नुभएको थियो । विशेष गरी विश्व बैङ्क र संयुक्त राष्ट्रसङ्घ जस्ता संस्थामा आबद्ध भई उहाँले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा विश्वका विभिन्न मुलुकमा कार्य गर्नुभएको अनुभव छ । स्वदेश फर्किएपछि उहाँ राष्ट्रिय योजना आयोगको सदस्य र पछि उपाध्यक्षको जिम्मेवारीमा समेत हुनुहुन्थ्यो । 

त्यस्तै परराष्ट्रमन्त्री रहनुभएका शिशिर खनालले अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा उच्च शिक्षा हासिल गर्नुभएको छ । उहाँ सामाजिक संस्था टिच फर नेपालको सहसंस्थापक हुनुहुन्छ । यो संस्थाले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार्न स्वयंसेवी शिक्षकलाई दुर्गमका गाउँ गाउँ पठाउने तथा शिक्षकलाई आवश्यक पर्ने तालिम लिनेलगायतका काम गरेको थियो । उहाँ काठमाडौँ–६ बाट निर्वाचित हुनुभएको हो । २०७९ सालमा पनि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि खनाल केही समय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीसमेत रहनुभएका भौतिक पूर्वाधर तथा यातायात, सहकारी विकासमन्त्री सुनील लम्सालले प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर पदमा रहँदा पूर्वाधार एवं वातावरणविज्ञका रूपमा काम गर्नुभएको थियो । ३५ बर्से लम्सालसँग पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गरेको अनुभव छ । २०४७ असोजमा स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मेका लम्साल रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले तिलोत्तमामै रहेको लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको नीति मिनाक्क्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चलर इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले हाल काठमाडौँ विश्वविद्यालयबाट ‘सोलिड वेस्ट म्यानेजमेन्ट’ विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पनि राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा विज्ञता हासिल गर्नुभएको छ । नुवाकोट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका उहाँले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्नुभएको छ । उहाँले दी युनिभर्सिटी अफ क्विन्सल्यान्ड, अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय अध्ययन (शान्ति तथा द्वन्द्व समाधान) मा स्नातकोत्तर गर्नुभएको छ भने त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातकोत्तर समेत पूरा गर्नुभएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कानुन विषयमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । उहाँ अहिले कानुनमै स्नातकोत्तर तह अध्ययनरत हुनुहुन्छ । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारको क्षेत्रमा सक्रिय रहनुभएको थियो । स्वास्थ्य जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले भारतबाट नर्सिङ विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । वर्तमान मन्त्रीपरिषद्मा अन्य जिम्मेवारीमा रहनुभएका मन्त्री पनि विगतमा शैक्षिक, प्रशासनिक र सार्वजनिक सरोकारको क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।