• ७ वैशाख २०८३, सोमबार

मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनामा स्थानीयलाई लगानी अवसर

blog

मर्स्याङ्दी गाउँपालिका–८, लामपाटामा निर्माणाधीन आयोजनाको कार्यालय तथा कर्मचारी आवासगृह । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल 
लमजुङ, वैशाख ७ गते ।
लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनामा स्थानीयवासीले पनि लगानी गर्न पाउने भएका छन् ।

दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भइरहेको यस आयोजनामा स्थानीय बासिन्दाका लागि संस्थापक सेयर बिक्री खुला गरिएको हो । आयोजनाबाट प्रभावित क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ र ९ तथा बेँसीसहर नगरपालिका वडा नं. ६ र १० का बासिन्दालाई प्राथमिकताका साथ सेयर उपलब्ध गराइने कम्पनीका परियोजना प्रबन्धक उमेश नेपालले बताउनुभयो ।

उहाँका अनुसार संस्थापक सेयर खुला भएसँगै स्थानीयमा लगानीको अवसर सिर्जना हुनुका साथै आयोजनाप्रति स्वामित्व भावना अभिवृद्धि हुने विश्वास गरिएको छ । प्रभावित क्षेत्रका स्थानीयलाई न्यूनतम एक लाख रुपियाँदेखि अधिकतम एक करोड रुपियाँसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

स्थानीयलाई लगानीमा सहजता दिन पाँच लाख रुपियाँसम्म लगानी गर्नेका लागि एक किस्ता, १० लाख रुपियाँसम्म लगानी गर्नेका लागि दुई किस्ता र सोभन्दा माथि लगानी गर्नेका लागि तीन किस्तामा रकम बुझाउने व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ । निर्माणको काम ७० प्रतिशत पूरा भएपछि बेँसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका बासिन्दालाई साधारण सेयर (आइपिओ) समेत जारी गरिने छ ।

स्थानीय स्रोत, साधन तथा जनशक्तिको अधिकतम उपयोग गर्दै आयोजना निर्माण भइरहेको परियोजना प्रबन्धक नेपालले बताउनुभयो । आयोजनाले स्थानीय विकास, रोजगारी तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

संस्थापक सेयर बिक्री प्रक्रिया २०८३ साल असोज ३ गतेदेखि १५ गतेसम्म खुला रहने छ । आवेदन फाराम आयोजनास्थल नजिकै मर्स्याङ्दी–९, बगैँचास्थित सम्पर्क कार्यालय तथा काठमाडौंको थापाथलीस्थित प्रधान कार्यालयबाट प्राप्त गर्न सकिने छ ।

२०७४ असोज १ गते वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भई २०७५ भदौ १० गते विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको यस आयोजनाको लागत करिब १० अर्ब रुपियाँ अनुमान गरिएको छ । साढे दुई वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

यसअघि प्रस्तावित डिजाइनमा परिवर्तन गरी हाल मर्स्याङ्दी गाउँपालिका–९, बगैँचामा बाँध र बेँसीसहर–१०, भोटेफाँटमा विद्युत् गृह निर्माण गरिने छ । नयाँ संरचना अनुसार सुरुङमार्ग हटाई पेनस्टक पाइप प्रयोग गरिने छ ।

‘रन अफ दी रिभर’ प्रकृतिको यस आयोजना ३० प्रतिशत इक्विटी र ७० प्रतिशत बैँक ऋणमार्फत निर्माण हुने छ । उत्पादित विद्युत् उदीपुर सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

आयोजनाबाट वार्षिक करिब साढे तीन करोड रुपियाँ रोयल्टी नेपाल सरकारलाई बुझाइने र सो रकम प्रभावित स्थानीय तहमा वितरण हुने जनाइएको छ । वातावरणीय असर न्यूनीकरण गर्न प्रभावित क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरिने आयोजनाले जनाएको छ ।