रमेश विश्वकर्मा
गुल्मी, वैशाख ७ गते। गुल्मीको सदरमुकाम तम्घासमा लक्ष्मीपुर पार्क उद्घाटन निर्माण गरिएको छ। चिदीचौरको तल्लो भागमा रहेको ऐतिहासिक गौमुखी धाराको संरक्षण तथा पुननिर्माण गर्दै लक्ष्मीपुर पार्क निर्माण गरिएको हो।
रेसुङ्गा नगरपालिका वडा नम्बर-८ मा पर्ने यस पार्कको नगर प्रमुख खिलध्वज पन्थीले एक समारोहका बिच उद्घाटन गर्नुभएको हो। त्यस अवसरमा उहाँले नगरभित्र रहेका ऐतिहासिक तथा धार्मिक महत्त्वका स्थलको संरक्षण गर्दै तिनलाई आधुनिक पूर्वाधारसँग जोडेर विकास गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो।
लक्ष्मीपुर पार्कको निर्माणले स्थानीय स्तरमा पर्यटन प्रवर्धन, वातावरण संरक्षण र नागरिकको जीवनशैली सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने नगर प्रमुख पन्थीको भनाइ छ।
पार्कको संरक्षणका लागि स्थानीय नागरिकको विशेष जिम्मेवार हुने बताउनुभयो। सङ्घीय सशर्त अनुदानमा ४५ रुपियाँ लागतमा करिब तीन रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको छ।
पार्कको नियमित रेखदेख वडा कार्यालयबाट नै गरिने वडाध्यक्ष निरञ्जन काउछाले जानकारी दिनुभयो।
आगामी दिनमा यस पार्कलाई व्यायामशालाको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो। साथै, बालबालिकाका लागि आवश्यक खेल सामग्रीहरू जडान गरी पार्कलाई बालमैत्री बनाउने तयारी समेत भइरहेको उहाँले जानकारी दिनुभयो।
गौमुखी धारा जीर्ण बन्नुका साथै आसपासको क्षेत्र झाडीले ढाकिएको र अस्वस्थ बन्दै गएको थियो। स्थानीय तहको पहलमा गरिएको संरक्षण र पुनःनिर्माणपछि हरियाली, स्वच्छता र शान्त वातावरणले भरिएको आकर्षक पार्क निर्माण गरिएको हो।
खड्गदेवी बिल्डर्स एन्ड सप्लायर्स प्रालिले गत आर्थिक वर्षको वैशाख १० गते सम्झौता गरी असार १५ गतेभित्र पार्क निर्माण कार्य सम्पन्न गरेको थियो।
पार्कभित्र ढुङ्गे धारा, पोखरेली ढुङ्गा छापाइँ, विभिन्न देवी, देवताका मूर्तिहरू, खानेपानी ट्याङ्की, बस्नका लागि बेन्च, आकर्षक प्रवेशद्वार, खोलामा तटबन्ध तथा तारजाली व्यवस्थापन गरिएको छ। साथै, विभिन्न प्रजातिका बिरुवा र फूलहरू रोपेर पार्कलाई हराभरा बनाइएको छ।