कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख ७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गर्नुभएको छ। बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो ।
उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवर्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
विसं १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको छ। युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा नेपाली सेनाले विजय हासिल गरेको उक्त घटनाले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’ को रूपमा चिनाएको इतिहासमा उल्लेख छ।
बुटवलको तिनाउ नदी किनारस्थित जीतगढी क्षेत्रमा भएको युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गर्नुभएको थियो । अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए । उक्त युद्धमा नेपाली सेनाका तीन गण सहभागी थिए । इतिहासविद्का अनुसार युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए।
युद्धको क्रममा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए।
इतिहासअनुसार कर्णेल उजिरसिंह थापाले युद्धअघि विजय प्राप्त भए भगवती मन्दिर निर्माण गर्ने भाकल गर्नुभएको थियो । युद्धमा विजयपछि पाल्पामा उक्त मन्दिर निर्माण गरिएको र अहिले पनि हरेक वर्ष भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ।