काठमाडौँ, चैत १ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा बदर मतदानको प्रतिशत अघिल्ला निर्वाचनका तुलनामा घटेको छ । निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको छ । जसमध्ये प्रत्यक्षतर्फ ५.४५ र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको छ । बदर मतको प्रतिशत निर्धारण गर्दा दुवैतर्फको बदर मतलाई औसत मान्ने गरिएको छ । यस पटकको निर्वाचनको मतदान फागुन २१ गते भएको थियो ।
निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको थियो । कुल मतदानमध्ये एक करोड पाँच लाख ५९ हजार १७ मत सदर भएको थियो । यो कुल मतदान भएको मतको ९४.५५ प्रतिशत हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो । यसमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको उहाँले बताउनुभयो । यो समानुपातिकतर्फ भएको मतदानको ९६.५ प्रतिशत हो । आयोगले उपलब्ध गराएको विवरण अनुसार यसअघि २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको थियो ।
त्यस्तै २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५.१८ प्रतिशत मत बदर भएको थियो । त्यतिबेला प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको थियो । सोही साल प्रदेश सभाको प्रत्यक्षतर्फ ६.५५ प्रतिशत र समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएको थियो ।
२०७० सालको निर्वाचनमा तुलनात्मक रूपमा अन्य निर्वाचनमा भन्दा थोरै मत बदर भएको थियो । त्यतिबेलाको निर्वाचनको बदर मत प्रतिशत ४.९६ प्रतिशत थियो । २०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।
यस पटक मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गरिएको र त्यसैको सकारात्मक योगदान मतदानको बदर मत घटाउन देखिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन हुनुअघि पनि मतदाता शिक्षालाई प्रभावकारी बनाइएको दाबी गर्दै बदर मत घटाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको थियो ।
यस पटक आयोगले फागुन ३ देखि फागुन १७ गतेसम्म निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । जस अन्तर्गत ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा यो कार्यक्रम सञ्चालन गरेको थियो । हरेक वडामा मतदाता शिक्षाका लागि एक÷एक जना महिला स्वयंसेविका परिचालन गरिएको थियो । त्यसरी परिचालन गरिएका महिला स्वयंसेविकाले आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराएका थिए ।
आयोगका सूचना अधिकारी सुमन अर्यालका अनुसार यस पटकको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमका लागि २५ करोड रुपियाँ बजेट छुट्टयाएको थियो । तर उक्त रकममध्ये पनि सात करोड मात्रै खर्च गरिएको पनि उहाँले जानकारी दिनुभयो । “मतदाता शिक्षाका लागि सञ्चालन गरिएका कतिपय कार्यक्रममा विभिन्न सङ्घ संस्थाले स्वयंसेवी रूपमा सहयोग गर्नुभयो । कतिपय शीर्षकमा रकम खर्चै गरिएन,” सूचना अधिकारी अर्यालले भन्नुभयो, “छुट्टयाइएको जति सबै बजेट खर्च हुने गरी कार्यक्रम सञ्चालन गर्न सकिएको भए बदर मत अझै घटाउन सकिने रहेछ ।”