• १ चैत २०८२, आइतबार

घट्यो बदर मत प्रतिशत

blog

काठमाडौँ, चैत १ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा बदर मतदानको प्रतिशत अघिल्ला निर्वाचनका तुलनामा घटेको छ । निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको छ । जसमध्ये प्रत्यक्षतर्फ ५.४५ र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको छ । बदर मतको प्रतिशत निर्धारण गर्दा दुवैतर्फको बदर मतलाई औसत मान्ने गरिएको छ । यस पटकको निर्वाचनको मतदान फागुन २१ गते भएको थियो । 

निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमध्ये प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको थियो । कुल मतदानमध्ये एक करोड पाँच लाख ५९ हजार १७ मत सदर भएको थियो । यो कुल मतदान भएको मतको ९४.५५ प्रतिशत हो । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो । यसमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको उहाँले बताउनुभयो । यो समानुपातिकतर्फ भएको मतदानको ९६.५ प्रतिशत हो । आयोगले उपलब्ध गराएको विवरण अनुसार यसअघि २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको थियो । 

त्यस्तै २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५.१८ प्रतिशत मत बदर भएको थियो । त्यतिबेला प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको थियो । सोही साल प्रदेश सभाको प्रत्यक्षतर्फ ६.५५ प्रतिशत र समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएको थियो ।

२०७० सालको निर्वाचनमा तुलनात्मक रूपमा अन्य निर्वाचनमा भन्दा थोरै मत बदर भएको थियो । त्यतिबेलाको निर्वाचनको बदर मत प्रतिशत ४.९६ प्रतिशत थियो । २०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ । 

यस पटक मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गरिएको र त्यसैको सकारात्मक योगदान मतदानको बदर मत घटाउन देखिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन हुनुअघि पनि मतदाता शिक्षालाई प्रभावकारी बनाइएको दाबी गर्दै बदर मत घटाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको थियो । 

यस पटक आयोगले फागुन ३ देखि फागुन १७ गतेसम्म निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । जस अन्तर्गत ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा यो कार्यक्रम सञ्चालन गरेको थियो । हरेक वडामा मतदाता शिक्षाका लागि एक÷एक जना महिला स्वयंसेविका परिचालन गरिएको थियो । त्यसरी परिचालन गरिएका महिला स्वयंसेविकाले आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराएका थिए । 

आयोगका सूचना अधिकारी सुमन अर्यालका अनुसार यस पटकको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमका लागि २५ करोड रुपियाँ बजेट छुट्टयाएको थियो । तर उक्त रकममध्ये पनि सात करोड मात्रै खर्च गरिएको पनि उहाँले जानकारी दिनुभयो । “मतदाता शिक्षाका लागि सञ्चालन गरिएका कतिपय कार्यक्रममा विभिन्न सङ्घ संस्थाले स्वयंसेवी रूपमा सहयोग गर्नुभयो । कतिपय शीर्षकमा रकम खर्चै गरिएन,” सूचना अधिकारी अर्यालले भन्नुभयो, “छुट्टयाइएको जति सबै बजेट खर्च हुने गरी कार्यक्रम सञ्चालन गर्न सकिएको भए बदर मत अझै घटाउन सकिने रहेछ ।”

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।