• १६ वैशाख २०८३, बुधबार

राति भारी वर्षाको सम्भावनाः सर्तकता अप्नाउन आग्रह

blog

फाइल तस्बिर कविता थापा ।

काठमाडौँ, वैशाख १६ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ । 

महाशाखाका अनुसार बुधबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । 

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। 

बिहीबार देशभर साधारणतया बादल लाग्ने छ । कोशी र मधेस प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । 

शुक्रबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

खासगरी, देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ ।