काठमाडौँ, वैशाख १६ गते । रामहरी कृष्ण मानान्धर स्मृति तेस्रो रापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।
काठमाडौँ क्षेत्रपाटी क्लबले आफ्नो संस्थापक अध्यक्ष स्वर्गीय मानान्धरको स्मृतिमा आयोजित नेपाल बुद्धिचाल महासङ्घको नियमित राष्ट्रिय प्रतियोगितामा पहिलो दिन पुरुष तथा महिला दुबैतर्फ पाँच पाँच चरणको खेल सञ्चालन भए ।
महिलातर्फ कूल ७ चरणको खेल मध्ये सम्पन्न पाँच चरण सम्मको स्पर्धामा झापाका कृतिसरा अधिकारीले सबै खेल जितेर पाँच अङ्क जोड्नुभएको छ ।
कृतिसराले क्रमशः दोलखाकी निहाना श्रेष्ठ, खोटाङकी कुशुम धिसिङ, काठमाडौँकी बिनिता कपाली, मोरङकी शान्ति धिमाल र काठमाडौँकी राधिका पौडेलमाथि जित निकाल्नुभयो ।
काठमाडौँकी बिनिता कपालीले खेलमा कमब्याक गर्दै चार अङ्कसहित प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो र सचार अङ्क बनाउन सफल दोलखाकी निहाना श्रेष्ठ तेस्रो स्थानमा हुनुहुन्छ ।
यसैगरी पुरुषतर्फ हेटौँडाका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष फूँयाल र काठमाडौँका सिएम पुरुषोत्तम सिलवाल समान पाँच अङ्कसहित शीर्षस्थानमा हुनुहुन्छ ।
शीर्ष खेलाडी एफएम रुपेश जैसवालले दोस्रो खेलमा गल्ती गर्दा दोस्रो स्थानमा रहनुभएको छ । प्रतीक सुवेदी तेस्रो स्थानमा हुनुहुन्छ । नवौँ चरणसम्म सञ्चालन हुने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ ।
यसअघि प्रतियोगिताको काठमाडौँ महानगरपालिका १७ वडा अध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, आयोजक क्षेत्रपाटी क्लबका अध्यक्ष गोपाल मालीलगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा अध्यक्ष मालीले बुद्धिचाल खेलको विकास तथा युवा प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले क्बलका संस्थापकको स्मृतिमा प्रतियोगिता गर्न लागिएको पनि बताउनुभयो ।
कूल तीन लाख रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा र्यापिडतर्फ दुई लाख र ब्लिट्जतर्फ एक लाख पुरस्कार रहेको छ । जसमा र्यापिडतर्फको विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: ३५, २५ १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
यस्तै ब्लिट्जतर्फ विजेता, उपविजेता र तेस्रो हुनलाई क्रमशस् १५, १० र आठ हजार रुपियाँ प्रदान गरिने छ । महिलातर्फको विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: १०, सात र पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
यस प्रतियोगिता बुद्धिचाल महासङ्घको राष्ट्रिय प्रतियोगिता अन्तर्गतको एक प्रतियोगिता पनि हो । प्रतियोगिताको निर्णायकमा एफए सोराज ताम्राकार हुनुहुन्छ ।