• २७ फागुन २०८२, बुधबार

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२

हारजितमा झिनो र फराकिलो मतान्तर

blog

काठमाडौँ, फागुन २७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक हुँदा केही उम्मेदवार यस्तो भाग्यमानी ठहरिए, जो प्रतिस्पर्धीलाई अत्यान्त झिनो मतले उछिनेर भए पनि निर्वाचित भए । तर केही उम्मेदवार भने निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पछि पारेर आरामसँग विजयी बने । 

यस्ता भाग्यमानी उम्मेदवारमध्येका एक हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ओखलढुङ्गाका उम्मेदवार विश्वराज पोखरेल । पोखरेलले प्रतिस्पर्धीलाई मात्र पाँच मतको अन्तरले हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।

पोखरेलले १३ हजार ९५३ मत ल्याउनुभयो भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को मतगणनाको नतिजा अनुसार यो सबैभन्दा कम अन्तरको जित हो ।

यसै गरी अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर पनि प्रतिद्वन्द्वी भन्दा ५२६ मत बढी ल्याएर विजयी हुनुभयो । उहाँले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार भीमबहादुर रावललाई पराजित गर्नुभएको हो । स्वारले १० हजार ७५९ मत ल्याउँदा नेकपाका रावलले भने १० हजार २३३ मत मात्र ल्याउनुभयो । 

एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा पनि नेपाली कांग्रेसका भरतबहादुर खड्काले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतान्तरले पराजित गर्नुभयो । खड्काले १४ हजार ८९७ र धामीले १४ हजार ११० मत ल्याउनुभयो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लालबहादुर थापालाई ५४० मतले पराजित गराउनुभयो । गिरीले १७ हजार १७३ मत पाउँदा थापाका पक्षमा १६ हजार ६३३ मत मात्रै खस्यो । 

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा आफ्ना निकटतम प्रतिस्पर्धीलाई केवल ५६१ मतले पराजित गर्दै रास्वपाका उम्मेदवार गोविन्द पन्थी विजयी हुनुभयो । पन्थीले १६ हजार ९६७ मत ल्याउँदा नेकपा (एमाले) का गोकर्ण विष्टले १६ हजार ४०६ मत ल्याउनुभयो । 

यसै गरी दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापाले आफ्ना निकटतम प्रतिस्पर्धीलाई केवल ५७६ मतले पराजित गर्नुभयो । उक्त निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम अनुसार थापाले १२ हजार ३७२ मत प्राप्त गर्दा दोस्रो स्थानमा हासिल गर्नुभएका नेकपा (एमाले) का उम्मेदवार रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याउनुभयो । 

यसै गरी बाग्लुङ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सोम शर्माले नेपाली कांग्रेसका टेकराज पौडेललाई ७७९ मतान्तरले पराजय गराउनुभयो । शर्माले १२ हजार ६४७ मत ल्याउँदा पौडेलले ११ हजार ८६८ मत मात्र ल्याउनुभयो । सिन्धुली क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार धनेन्द्र कार्कीले नेकपा (एमाले) का प्रदीपकुमार कटुवाल क्षेत्रीलाई ७८४ मतले पराजित गर्नुभयो । कार्कीले १६ हजार ६५९ र कटुवालले १५ हजार ८७५ मत प्राप्त गर्नुभयो । 

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले नेकपा (एमाले) का भानुभक्त ढकाललाई केवल ८७९ मतान्तरले हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । त्यस्तै इलाम क्षेत्र नं. १ मा नेपाली कांग्रेसका निस्कल राईले ९११ मतको अन्तरमा चुनाव जित्नुभयो । गणनाका क्रममा कहिले अघि कहिले पछि हुँदै अन्तिम परिणाम आउँदा १४ हजार ५४३ मत प्राप्त गर्नुभएका राईका निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गर्नुभएको थियो । 

जो धेरै मतान्तरले हारे

यो निर्वाचनका उम्मेदवारहरू थोरै मतान्तरले मात्रै पराजित भएका छैनन्, थुप्रै उम्मेदवार पराकिलो मतान्तरले पछि पार्दै विजयी पनि भएका छन् । 

सबैभन्दा ठुलो मतान्तरले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पराजित हुनुभयो । उहाँ झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह (बालेन) सँग ४९ हजार ६१४ मतान्तरले पराजित हुनुभयो । बालेनले ६८ हजार ३४८ मत ल्याएर विजयी हुँदा ओलीले १८ हजार ७३४ मत पाउनुभयो । 

बालेनले मात्रै होइन, चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभयो । लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त प्राप्त गर्नुभयो । लामिछानेको मत खरेलको भन्दा ३९ हजार ८३८ बढी हो ।  

त्यस्तै झापा क्षेत्र नं. २ बाट रास्वपाका तर्फबाट निर्वाचित हुनुभएका पूर्वउपसभामुख इन्दिरा रानामगरले पूर्वसभामुख देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पराजित गर्नुभयो । रानामगरले ६० हजार ११० मत ल्याउँदा घिमिरेले ११ हजार ३६८ मत मात्रै ल्याउनुभएको निर्वाचन आयोगले जनाएको छ । रानामगर र घिमिरे यसअघिका संसद्का सहकर्मी हुनुहुन्छ । 

रास्वपाकै तर्फबाट चितवन क्षेत्र नं. ३ बाट निर्वाचित सोविता गौतमले ५९ हजार २७७ मत ल्याउँदा दोस्रो स्थान हासिल गर्नुभएका भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका रेणु दाहालले २० हजार ६१५ मत मात्रै ल्याउनुभयो । 

चितवन क्षेत्र नं. १ बाट रास्वपाका हरि ढकालले ५८ हजार २०८ मत ल्याउँदा नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत मात्रै ल्याउनुभयो । रुपन्देही क्षेत्र नं. ३ बाट रास्वपाका तर्फबाट उम्मेदवार बन्नुभएका डा. लेखजङ्ग थापाले ५८ हजार ८१५ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले आठ हजार ४३५ मत मात्रै ल्याउनुभयो । 

रास्वपाकै तर्फबाट रुपन्देही क्षेत्र नं. २ बाट विजयी सुलभ खरेलले ५६ हजार ५५० मत ल्याउँदा नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत मात्रै ल्याउनुभयो । रास्वपाका तर्फबाट सुनसरी क्षेत्र नं. २ बाट विजयी  लालविक्रम थापाले ५७ हजार ३४८ मत ल्याउँदा नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत मात्रै ल्याउनुभयो । 

निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनालाई विश्लेषण गर्दा फराकिलो मत अन्तरले विजयी हुनेमा अधिकांश उम्मेदवार रास्वपा छन् । रास्वपासँग फराकिलो मतान्तरले पराजित हुनेमा अधिकांश उम्मेदवार नेपाली कांग्रेस र नेकपा (एमाले) का छन् ।   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।