क्वालालम्पुर, वैशाख ७ गते । मलेसियाको बोर्नियो टापुको तटीय बस्तीमा आइतबार बिहान भएको भीषण आगलागीले ठुलो मानवीय सङ्कट निम्त्याएको छ । समुद्रमाथि काठका खम्बामाथि बनाइएका घना घरमा लागेको आगो तीव्र गतिमा फैलिँदा करिब एक हजार घर पूर्णरूपमा नष्ट भएका छन् भने नौ हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।
अग्नि तथा उद्धार विभागका अनुसार आगलागी सबाह राज्यअन्तर्गत सन्दकन जिल्लाको एक तटीय ‘पानी गाउँ’ मा सुरु भएको थियो । काठ र अन्य ज्वलनशील सामग्रीबाट बनेका घर एक आपसमा अत्यन्तै नजिक भएकाले आगो छिट्टै फैलिएको थियो । समुद्रमाथि खम्बामा उभ्याइएका संरचनामा फैलिएको आगो नियन्त्रण गर्न उद्धारकर्मीलाई निकै कठिनाइ परेको जनाइएको छ ।
अधिकारीका अनुसार तीव्र हावा र घरको घनत्वले आगो फैलिन झन् सहयोग पुगेको थियो । साथै, प्रभावित क्षेत्रमा पुग्ने बाटो साँघुरो हुनु र ज्वारभाटाको असरका कारण पानीको सतह घट्दा उद्धार तथा नियन्त्रण कार्यमा थप समस्या उत्पन्न भएको थियो । घटनामा हालसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन । तर हजारौँ स्थानीयवासी आफ्नो बासस्थान गुमाएर विस्थापित भएका छन् र उनीहरूलाई अस्थायी शिविरमा सारिएको छ ।
स्थानीय प्रशासनले राहत तथा पुनः स्थापनाका लागि काम अघि बढाएको जनाएको छ । सबाह क्षेत्रमा पाइने यस्ता ‘पानी गाउँ’ हरू प्रायः गरिब तथा सीमान्तकृत समुदायको बसोवास क्षेत्र मानिन्छन् । समुद्रमाथि बनाइएका यी अनौपचारिक बस्तीमा पूर्वाधारको अभाव, असुरक्षित आवास संरचना र भीडभाडका कारण आगलागीको जोखिम उच्च रहने गरेको छ । त्यहाँ बसोवास गर्ने धेरै मानिस न्यून आय भएका, आदिवासी समुदायका वा औपचारिक नागरिकता नभएका व्यक्ति हुने गर्छन् ।
स्थानीय गाउँ प्रमुख सरिफ हासिम सरिफ इटिंका अनुसार प्रारम्भिकरूपमा खाना पकाउने क्रममा लागेको आगो नियन्त्रण बाहिर गएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि आगलागीको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री अनवर इब्राहिमले विस्थापित परिवारलाई केन्द्रमा राखेर सङ्घीय र राज्यस्तरीय निकायले राहत तथा उद्धार कार्य समन्वय गरिरहेको जानकारी दिनुभयो ।
उहाँले प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सबाहका यस्ता तटीय बस्तीमा विगतमा पनि पटक-पटक आगलागीका घटना हुने गरेका छन् । स्थानीय अधिकारीले यस्ता क्षेत्र उच्च जोखिममा रहेको स्वीकार गर्दै आए पनि संरचनागत सुधार र सुरक्षित बसोवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यस पटकको आगलागीले पुनः एक पटक त्यस्ता बस्तीको असुरक्षा र दीर्घकालीन समाधानको आवश्यकता उजागर गरेको छ । रासस/एपी