लक्ष्मी चौधरी
जनकपुरधाम, चैत १६ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा प्रस्तुत गरिएको गाउँ सभा, नगर सभा तथा जिल्ला सभा कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ संशोधन विधेयक फिर्ता लिनुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले सोमबार बसेको प्रदेश सभाको छैटौं अधिवेशनको १५औं बैठकमा उक्त विधेयक फिर्ता लिएको घोषणा गर्नुभएको हो ।
संशोधन विधेयकको दफावार छलफलपछि उठेका सुझावहरूलाई आत्मसात गर्दै नवगठित सरकारको सय बुँदे सुशासन कार्यक्रमअनुसार अगाडि बढ्ने प्रतिबद्धतासहित विधेयक फिर्ता गरिएको उहाँले बताउनुभयो ।
दफावार छलफलका क्रममा जनता समाजवादी पार्टी (जसपा) का सांसद तथा पूर्व अर्थमन्त्री संजयकुमार यादवले लोकतन्त्रमा विधिको शासन अनिवार्य रूपमा लागू हुनुपर्नेमा जोड दिनुभयो । यसैगरी जसपा नेपालका प्रदेश सांसद किरण साहले जनसहभागिताको सिद्धान्तविपरीत संशोधन विधेयक प्रस्तुत गरिएको भन्दै त्यसलाई फिर्ता लिन माग गर्नुभएको थियो ।
यसैगरी बैठकको विशेष समयमा विभिन्न दलका प्रदेशसभा सदस्यहरूले आ–आफ्ना धारणा राखने क्रममा नेपाली कांग्रेसका सचेतक कुमरकान्त झाले देशमा शान्ति, शिक्षा र रोजगारीलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का सांसद लखन दास तत्माले वर्तमान सरकारले कानुनी मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै आवेगमा निर्णय लिएको टिप्पणी गर्नुभयो । साथै, संसदबाट पारित कार्यक्रमको बजेट रोक्नुको कारण प्रदेश सरकारले स्पष्ट पार्नुपर्ने उहाँले बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य रमिता प्रधानले सुशासन, पारदर्शिता, रोजगारी र समावेशी विकासमार्फत संघीय संरचनालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, प्रदेशको योजना निर्माण प्रणालीमा देखिने प्राविधिक समस्याप्रति संघ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
जनमत पार्टीका सांसद संजय यादवले संघ र प्रदेशबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै पारदर्शिताको अभावले विवाद निम्त्याउने गरेको उल्लेख गर्नुभयो ।
विकास योजनामा विज्ञसँग पर्याप्त छलफल नभएको गुनासो पनि उहाँले गर्नुभयो ।
नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य मालाकुमारी कर्णले कानुनले दिएको अधिकार कार्यान्वयनका लागि सबै सांसद एकजुट हुनुपर्ने बताउनुभयो । बेरोजगारीका कारण युवाहरू दुव्र्यसनतर्फ लागेको भन्दै युवालाई रोजगारीमा समेट्न सरकारसँग आग्रह गर्नुभयो ।
जनता समाजवादी पार्टी ९जसपा० का प्रदेश सांसद अनिरुद्धकुमार सिंहले चालु आर्थिक वर्षमा तीव्र गतिमा काम गर्न सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै जसपा नेपालकी प्रदेशसभा सदस्य ललिता दासले बैशाखभित्रै आर्थिक वर्षको कार्यसम्पादन टुंग्याउनु पर्ने धारणा राख्नुभयो ।
मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले विशेष समयमा सांसद माला कुमारी कर्णको वक्तव्यलाई सम्बोधन गनुहुँदै सप्तरी जिल्लास्थित सुरुंगा नगरपालिका–३ लक्ष्मीपुरका मन्जु कुमारी सदाको सवालमा प्रदेश सरकारलाई ध्यानाकर्षण समेत गराउनुभएको छ ।